प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका भरतराज ढकाल चुनावी सभामा उभिँदा भाषणभन्दा बढी योजना सुनाउँछन् । त्यसैले उनलाई यहाँका मतदाताले ‘योजना बोकेर हिँड्ने नेता’ भनेर चिन्ने गरेका छन् ।
‘नागरिकको समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल प्रतिबद्धतासहित मैदानमा उत्रिएका ढकाल आफूलाई सपना देखाउने होइन, सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने नेतृत्वका रूपमा प्रस्तुत गर्छन् ।
५२ वर्षीय ढकालको जन्म स्याङ्जाको आँधीखोला गाउँपालिका–६, निबुवाबोटमा भएको हो । विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका उनी २०४७ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भए । २०४६/०४७ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका ढकाल पृथ्वीनारायण क्याम्पसमा भएको विद्यार्थी आन्दोलनका क्रममा घाइतेसमेत भएका थिए । २०६२/०६३ को जनआन्दोलनमा पनि उनी अग्रपंक्तिमै देखिए ।
२०५३ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका ढकालले पार्टीको वित्तीय तथा सहकारी विभागको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन् । दीर्घ राजनीतिक सक्रियता र संगठनात्मक पकडलाई उनी आफ्नो बलियो पक्ष मान्छन् ।
एमबीएसम्म अध्ययन गरेका ढकालले वित्तीय क्षेत्रमा व्यावहारिक अभ्याससमेत गरेका छन् । स्याङ्जामै निजी क्षेत्रबाट स्थापना गरिएको मुक्तिनाथ विकास बैंकको परिकल्पना र विस्तारमा उनको भूमिका उल्लेखनीय मानिन्छ । दुर्गम क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा उनले जोड दिएका छन् ।
कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड ठान्ने ढकालले मुक्तिनाथ कृषि कम्पनीमार्फत किसानको आम्दानी बढाउने, कृषि मूल्य शृंखला व्यवस्थित गर्ने र बजार पहुँच विस्तार गर्ने कार्यक्रम अघि सारेका छन् । स्याङ्जालाई सुन्तला, कफी जस्ता अर्गानिक उत्पादनको उर्वरभूमिका रूपमा चिनाउँदै ‘कृषि औद्योगिक ग्राम’को अवधारणा उनले सार्वजनिक गरेका छन् । उत्पादनलाई आन्तरिक बजारसँगै निर्यातसम्म जोड्ने उनको लक्ष्य छ ।
ढकालको सामाजिक संलग्नता पनि फराकिलो छ । भगवती माध्यमिक विद्यालय, साहारा बाल गृह, जिल्ला बालकल्याण समिति स्याङ्जा तथा मानवअधिकार तथा शान्ति समाजजस्ता संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । ‘नयाँ खबर साप्ताहिक’का तत्कालीन प्रकाशकका रूपमा सञ्चार क्षेत्रसँग पनि उनको सम्बन्ध रह्यो ।
व्यावसायिक रूपमा स्याङ्जा रोयल बहुउद्देश्यीय सहकारी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, मुक्तिनाथ क्यापिटललगायत संस्थामा आवद्ध ढकाल कृषि, सहकारी र वित्तीय क्षेत्रलाई समन्वय गरेर स्थानीय अर्थतन्त्र सबल बनाउन सकिने बताउँछन् ।
यद्यपि, उनको व्यावसायिक पृष्ठभूमिमाथि स्वार्थको प्रश्न उठ्न सक्ने सम्भावना विपक्षीले औँल्याउने गरेका छन् । ठूला योजनाको कार्यान्वयन चुनौतीपूर्ण हुने र राष्ट्रिय राजनीतिक समीकरणको प्रभाव पनि उत्तिकै महत्वपूर्ण रहने विश्लेषण गरिन्छ ।
स्याङ्जा क्षेत्र नम्बर १ का करिब १ लाख ३० हजार मतदाताले यसपटक विकासको स्पष्ट खाका प्रस्तुत गर्ने उम्मेदवार रोज्ने कि परम्परागत राजनीतिक समीकरणलाई निरन्तरता दिने ? चुनावी नतिजाले त्यसको उत्तर दिनेछ । तर, ढकाल भने आफ्नो अभियानलाई एउटै वाक्यमा समेट्छन्—“योजना कागजमा होइन, कार्यान्वयनमा देखिन्छ ।”





