नेपाल विद्युत प्राधिकरणको स्याङ्जा वितरण केन्द्रले अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयविरुद्ध पुनः विद्युत चोरी गरेको आरोप लगाउँदै छुट बिल तथा जरिवाना तिर्न ताकेता गरेको छ ।
वितरण केन्द्रले गत मंगलबार विद्यालयलाई पत्र पठाउँदै मन्दिर प्रयोजनका लागि जडान गरिएको विद्युत मिटर विद्यालयमा प्रयोग गरिएको भेटिएको जनाएको हो । प्राधिकरणका अनुसार यसअघि पनि विद्यालयलाई सोही प्रकृतिको कसुरमा कारबाही भइसकेको थियो ।
गत साल साउन २३ गते पहिलो पटक “विद्युत चोरी नियन्त्रण ऐन २०५८” अनुसार कारबाही गर्दै छुट बिल असुल गरिएको स्याङ्जा वितरण केन्द्रका प्रमुख ई. राजु महतोले बताए । त्यसपछि पनि सम्बन्धित मिटर बाकसको सिल तोडेर मिटरको टर्मिनलमा छेडछाड गरिएको र पुनः विद्युत चोरी गरेको अवस्था स्थलगत निरीक्षणका क्रममा फेला परेको प्राधिकरणको दाबी छ ।
अनुसन्धान टोलीले हिसाब गर्दा प्राधिकरणलाई पुगेको हानी–नोक्सानी बापत २६ हजार ६४० रुपैयाँ र त्यसको २०० प्रतिशत जरिवाना गरी कुल ७९ हजार ९२० रुपैयाँ तिर्नुपर्ने उल्लेख गरिएको छ । उक्त रकम यथाशीघ्र कार्यालयमा सम्पर्क गरी भुक्तानी गर्न विद्यालयलाई भनिएको केन्द्रका प्रमुख ई. महतोले बताए ।
घटनाबारे स्पष्ट पार्दै अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले विद्युत प्राधिकरणबाट प्राप्त पत्रप्रति गाउँपालिकाको ध्यानाकर्षण भएको बताए । उनका अनुसार विद्यालयसँग आवश्यक स्पष्टीकरण मागिने र तथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
उनले भने, “विद्यालय जस्तो संस्थाबाट यस्ता विषय आउनु गम्भीर कुरा हो । वास्तविकता बुझेर आवश्यक निर्णय लिन्छौं ।”





