Syangja Dainik Media
पत्रकार लक्ष्मण वियोगीको ‘सत्यम्’ कथासङ्ग्रहमाथि काठमाडौँमा विमर्श

काठमाडौं । पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ माथि शनिबार पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा गरिएको विमर्शमा वरिष्ठ साहित्यकार तथा समालोचकहरूले कृतिलाई विश्लेषण गर्दै प्रशंसा र सुझाव राखेका छन् ।

कार्यक्रम वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो भने डा. तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए । प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वाह गरेका कार्यक्रमको सञ्चालन पत्रकार राजेश खनालले गरेका थिए ।

विमर्शमा डा. अशोक थापा, महेश पौड्याल, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनासहितका समीक्षकहरूले कृतिका फरक–फरक कथामा धारणा राखे ।

डा. थापाले ‘चुन्कीको रहस्य’, ‘छुटेका पानीहाँस’ र ‘क्रमु’ कथामा पाठकीय चुनौतीको प्रसंग उठाउँदै कथानकमा अझै गहिराइ दिन सकिने सुझाए । डा. ढुंगानाले माओवादी द्वन्द्वमा महिला पात्रको पीडालाई संवेदनशील ढङ्गले प्रस्तुत गर्न सकिएको भन्दै वियोगीको दृष्टिकोण प्रशंसनीय भएको बताइन् ।

त्यस्तै, टेकनारायण ढकालले द्वन्द्वको पीडामा आफू पनि पीडित भएको स्मरण गर्दै वियोगीले न्यायोचित ढङ्गले कथा प्रस्तुत गरेको बताएका थिए । जानुका खतिवडाले युद्धपछिको आञ्चलिकता र परिवेशको प्रयोग कृतिको विशेषता भएको टिप्पणी गरिन् भने देवी तिमल्सिनाले ‘ऊ’ र *‘आँसुको लोरी’*मा पात्रहरूको अनुभूतिलाई स्पर्श गर्ने शक्ति रहेको सुनाइन् ।

समीक्षक महेश पौड्यालले ‘सत्यम्’ले समाजमा खण्डित हुँदै गएको सत्य र बदलिँदो यथार्थलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको बताए । राजनीतिक आन्दोलन, द्वन्द्व र समाजका विडम्बनालाई साहित्यिक व्यङ्ग्यमा रूपान्तरण गर्न सकिएको उनको विश्लेषण थियो ।

कृतिकार वियोगीले ‘सत्यम्’मा करिब ६० प्रतिशत घटनाक्रम आफ्नै भोगाइमा आधारित रहेको र बाँकी सिर्जनात्मक कलात्मकता रहेको खुलाएका थिए । पहिलो संस्करणका कमजोरीलाई सुधार्दै आगामी संस्करणलाई अझ परिमार्जित बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रमुख वक्ता प्रा.डा. कोइरालाले कथामा जनआन्दोलन, मधेश आन्दोलन, द्वन्द्व र सामाजिक यथार्थलाई समेटिएको उल्लेख गर्दै आञ्चलिकता, स्वैरकल्पना र सामाजिक कारुणिकताले कृति बलियो बनेको बताए । तर, काव्यिक भाषाशैली बढी प्रयोग भएकाले कथानकमा लेखकको हस्तक्षेप केही बढी देखिएको टिप्पणी पनि गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले वियोगीको लेखनशैलीले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्ने क्षमता रहेको बताए । उनले ‘हिउँखोलाको आलाप’मा निबन्धात्मक शैली हाबी भएको सुझाव दिँदै वियोगीलाई आगामी दिनमा उपन्यास लेखनमा पनि उन्मुख हुन सुझाव दिए ।

सभापति प्रा.डा. गोविन्दराज भट्टराईले वियोगीको सिर्जनात्मक शक्ति उपन्याससम्म पुग्न सक्ने निष्कर्ष निकाल्दै साहित्यिक यात्रालाई अझ विस्तार गर्न आग्रह गरे ।

कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, व्यङ्ग्यकवि लक्ष्मण गामनागे, पत्रकार त्रिभुवनचन्द्र वाग्ले, साहित्यकार अन्जना वस्ती, प्रमोद प्रधान, विजय हितान, हरि गौतम, अनिता पन्थीलगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update