Syangja Dainik Media
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

साहित्य र वातावरण संरक्षणको सन्देशलाई एकै मञ्चबाट जोड्ने उद्देश्यसहित स्याङ्जामा पहिलोपटक ‘पर्या/हरित काव्य उत्सव’ आयोजना गरिएको छ । नेपाली लेखक संघ स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै सम्पन्न उत्सवले जिल्लाको साहित्यिक गतिविधिमा नयाँ आयाम थपेको आयोजकहरूले बताएका छन् ।

वालिङमा आयोजित कार्यक्रममा वातावरण, प्रकृति, हरियाली र मानवीय जिम्मेवारीका विषयलाई केन्द्रमा राखेर विभिन्न साहित्यकार तथा स्रष्टाहरूले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लक्ष्मी रेग्मी खनालले ‘कुहिरो’ कविता वाचन गरिन् भने मुनाल गोदार, विष्णु पङ्गेनी पाण्डे, खगेन्द्रजंग थापा, शोभाकान्त रेग्मी, गणेश खत्री, विक्रम संवत र सरस्वती अर्याल काफ्लेले मुक्तक प्रस्तुत गरेका थिए ।

त्यसैगरी जिबी रानाले ‘आँधी’, गुरुप्रसाद ढकाल र पारु थापा पल्लीले गजल, लीला रेग्मीले ‘नारी’, ढालबहादुर केसीले ‘आँधीखोली’, इन्द्रप्रसाद पाठकले ‘हरित विचार’, राजु गैह्रेले ‘माथि आकाशमा’, स्मारिका अर्यालले ‘हराउँदै गएको स्वर्ग’, सीताराम अधिकारीले ‘मित्रमा अपमान’, ध्रुवप्रसाद शर्मा पङ्गेनीले ‘हे तन्देरी !’, नेत्रनारायण रेग्मीले ‘स्वच्छतामा अघि बढौँ’ तथा मिलन समीरले ‘प्रलयको पर्खाइमा पृथ्वी’ शीर्षकका रचना सुनाएका थिए ।

ऐतिहासिक प्रथम स्याङ्जा पर्या/हरित काव्य उत्सवअन्तर्गत प्रस्तुत अधिकांश सिर्जनाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र प्रकृतिप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहरूले पर्यावरणीय संकट बढिरहेका बेला साहित्यले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा समेत राखेका थिए ।

उत्सवकै अवसरमा साहित्यकार शिवकुमार अधिकारीको कथासंग्रह ‘कोपिला’ सार्वजनिक गरिएको थियो । उक्त कृतिको सामूहिक रूपमा लोकार्पण गरिएको कार्यक्रममा विभिन्न साहित्यिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अग्रज स्रष्टा देवीप्रसाद वनवासी, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, ध्रुवप्रसाद शर्मा पङ्गेनी, नेत्रनारायण रेग्मी, दीपक लम्साललगायतले साहित्यिक सिर्जना, अभिव्यक्ति स्वतन्त्रता र समाज रूपान्तरणमा लेखनको भूमिकाबारे विचार व्यक्त गरेका थिए ।

यसैबीच सम्पन्न चौथो जिल्ला अधिवेशनले पारिश्वर न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा युवराज सुवेदी, महिला उपाध्यक्षमा शान्ता थापा, सचिवमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा शोभाकान्त रेग्मी र सहसचिवमा मुनाल गोदार चयन भएका छन् ।

नवनिर्वाचित समितिका सदस्यहरूमा राजु गैह्रे, जिबी राना, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली र सरस्वती अर्याल काफ्ले रहेका छन् ।

कार्यक्रमको संयोजन नेपाली लेखक संघ स्याङ्जाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिव मिलन समीरले गरेका थिए भने स्वागत मन्तव्य पारिश्वर न्यौपानेले व्यक्त गरेका थिए ।

लेखक संघ स्याङ्जाले पहिलोपटक आयोजना गरेको हरित काव्य उत्सवले साहित्यमार्फत वातावरणीय चेतना विस्तार गर्ने अभियानलाई थप बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update