Syangja Dainik Media
ढापुक भलिबल टिमलाई अर्जुनचौपारीको उपाधि

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि भीरकोट नगरपालिका–८ ढापुक भलिबल टिमले जितेको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा गुप्तेश्वर युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ढापुकले आयोजकको टिमलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि हासिल गरेको हो । खेलमा ढापुकले २५–१५ र २५–१४ को सेटमा जित निकालेको थियो ।

उपाधिसँगै विजेता ढापुकले नगद ६१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक टिमले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

तृतीय स्थान अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर भलिबल टिमले हासिल गर्दै २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने सान्त्वना स्थानमा रहेको भीरकोट नगरपालिका–७ तिलाहर भलिबल टिमलाई ११ हजार रुपैयाँ प्रदान गरिएको क्लबका अध्यक्ष हिमेश परियारले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी ढापुकका ओमन गुरुङ घोषित भए । उत्कृष्ट मिडल ब्लकर ढापुकका अमृत सुनार, उत्कृष्ट सेटर ढापुकका मिलन गुरुङ, उत्कृष्ट स्पाइकर आरुचौरका प्रवेश अधिकारी क्षेत्री र उत्कृष्ट लिब्रो आयोजकका निरण परियार घोषित भएका छन् ।

विजेतालाई स्थानीय समाजसेवी टुकराज अर्यालले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै अर्यालले खेलकुद केवल जित–हारको प्रतिस्पर्धामा सीमित नरहेको बतार । उनले खेलले युवामा अनुशासन, आत्मविश्वास र हारपछि फेरि उठ्ने साहस सिकाउने उल्लेख गर्दै समाजलाई एकताबद्ध बनाउने माध्यमका रूपमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरूले मैदानमा देखाएको मेहनत, अनुशासन र खेलभावना सबैका लागि प्रेरणादायी बनेको बताए । सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच पनि युवाहरूले देखाएको समर्पण, लगनशीलता र जिम्मेवारी प्रशंसनीय रहेको उनको भनाइ थियो ।

अर्यालले आज मैदानमा बगेको पसिना केवल उपाधिका लागि नभई सफल भविष्य निर्माणको आधारसमेत भएको उल्लेख गरे । मेहनती, अनुशासित र सपनालाई यथार्थमा बदल्न सक्ने युवा नै समाज र राष्ट्रको वास्तविक शक्ति भएको उनले बताए ।

उनले विजेता टिमलाई बधाई दिँदै प्रतियोगितामा सहभागी सबै टिमप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि समाजलाई सकारात्मक सन्देश दिने यस्ता रचनात्मक तथा एकताबद्ध गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए ।

वैशाख १ गतेबाट सञ्चालन गरिएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update