चाडपर्व लक्षित सुरक्षित यात्रा अभियानअन्तर्गत स्याङ्जामा ट्राफिक प्रहरीले ‘स्मरण कार्यक्रम’ सुरु गरेको छ ।
दसैं, तिहार र छठमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत उच्च हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक, सहचालक र यात्रुलाई लक्षित गर्दै सडक सुरक्षा अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत जिल्लाका मुख्य सडक, राजमार्ग तथा ग्रामिण सडकमा चल्ने छोटो र लामो दूरीका सवारीसाधनका चालक, सहचालक र यात्रुलाई ट्राफिक नियम तथा सुरक्षित यात्राका उपायबारे जानकारी दिन थालिएको छ ।
प्रहरीले विशेषगरी तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्ने र लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको विषयमा निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले चाडपर्वमा घर फर्किने यात्रुको यात्रा सुरक्षित बनाउन अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार चालकको लापरबाही र ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य हो ।
‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने सन्देशसहित चालकलाई तीव्र गतिमा सवारी नचलाउन र यात्रुलाई क्षमताभन्दा बढी यात्रु राखिएका सवारीमा यात्रा नगर्न आग्रह गरिएको शाहीले बताए । नियम उल्लंघन गर्ने चालकलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
यात्रुको गुनासो सुन्न सहायता कक्ष
चाडपर्वका बेला यात्रुले बढी भाडा तिर्नुपर्ने, टिकट नपाउने वा टिकट काउन्टरमा सास्ती भोग्नुपर्ने समस्या समाधान गर्न स्याङ्जाका प्रमुख चोक तथा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यात्राका क्रममा अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान, आफ्ना सामानको सुरक्षा गर्न र सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएमा वा चालकले लापरबाही गरेमा तत्काल प्रहरीलाई जानकारी गराउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
यात्रु तथा सर्वसाधारणले समस्या परेमा नजिकको ट्राफिक प्रहरी वा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न सक्नेछन् । प्रहरीले चाडपर्वको खुसीयालीलाई दुर्घटनाका कारण दुःखमा परिणत हुन नदिन चालक, यात्रु र यातायात व्यवसायी सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।






