Syangja Dainik Media
स्याङ्जामा चाडपर्व लक्षित तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा समस्या आउन सक्ने भएकाले स्याङ्जामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्व लक्षित गरी पुतलीबजार, वालिङ र गल्याङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रुको सहजता, सुरक्षा तथा गुनासो सुनुवाइका लागि जिल्लाका मुख्य बजार तथा राजमार्ग क्षेत्रका तीन स्थानमा सहायता कक्ष सञ्चालन गरेका हुन् ।

सिद्धार्थ राजमार्ग हुँदै दसैं, तिहार तथा छठका बेला यात्रुको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

सहायता कक्षबाट यात्रुले सार्वजनिक यातायातमा भोगेका समस्या, तोकिएकोभन्दा बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने, टिकट नदिने तथा अन्य गुनासोबारे जानकारी गराउन सक्नेछन् । समस्यामा परेका यात्रुलाई तत्काल आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइएको शाहीले बताए ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवसायी तथा चालकलाई सवारीको क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएको भाडाभन्दा बढी नलिन र यात्रुसँग अनावश्यक शुल्क नअसुल्न प्रहरीले आग्रह गरेको छ ।

यात्रु सहायता कक्षसँगै राजमार्गमा सवारीसाधनको अवस्था, चालकको गतिविधि र ट्राफिक नियम पालनाबारे निगरानी बढाउने तयारी गरिएको छ । लामो दूरीका सवारीसाधनमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक जाँच तथा सहजीकरण गरिने प्रहरीले जनाएको छ ।

यस वर्षको दसैंमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने अनुमान गरिएको छ । देशका मुख्य सडक तथा नाकामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी भइरहेका बेला स्याङ्जा हुँदै पोखरा, बुटवल, पाल्पा, गुल्मी, पर्वतलगायत जिल्लातर्फ जाने यात्रुलाई लक्षित गरी पनि सुरक्षा र यातायात व्यवस्थापनमा ध्यान दिइएको छ ।

प्रहरीले यात्राका क्रममा कुनै समस्या, ठगी वा असुरक्षा भएमा नजिकको प्रहरी वा यात्रु सहायता कक्षमा जानकारी गराउन आग्रह गरेको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरीको निःशुल्क नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update