
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका –६ का १२ वर्षीय सुज्वल रोकाले आफ्ना बुवाको अनुहार चिन्नै पाएनन् । सात वर्ष साउदीमा रोजगारी गरेका जयबहादुर रोका तेस्रो पटक रोजगारीमा पुगेको साढे दुई वर्षमा नेपाल आउँदा सुज्वलले उनलाई देखेपनि चौथो पटक गएको पाँच महिनामा ३३ वर्षको उमेरमा सधैँका लागि परिवारबाट बिदा भए ।
बुवाको मृत्युसँगै आमा सुशीलाले दुःख कष्ट गरेर छोरालाई पालिन् र भविष्य उज्वल बनाउन पोखराको राम्रो निजी विद्यालयमा पढाइन् । स्याङ्जाको आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा जयबहादुर रोकाको छोरा सुज्वल र श्रीमती सुशीलाले जयबहादुरको मृत्यु भएको १० वर्षपश्चात् सामाजिक सुरक्षा बीमाको ५० लाख ६७ हजार रुपैयाँ पाएसँगै उनीहरूको जीवनमा परिवर्तन आएको छ ।
छोराका लागि धेरै दुःख गरेको बताउँदै सुशीलाले नसोचेको ठुलो रकम पाउँदा आफ्ना नयाँ दिन सुरु भएको बताइन् । सन् २०१५ अगस्ट २० मा श्रीमानको मृत्युपश्चात् गत फागुनमा रकम पाएको बताउँदै सुशीलाले उक्त रकमको सही सदुपयोग गर्दै जीवन अगाडि बढाउने बताइन् । रोकाजस्तै अर्जुनचौपारी –१ का डोलबहादुर खत्रीको मृत्यु भएको १८ वर्षमा तीन जनाको परिवारले राहत महसुस गरेका छन् । खत्रीको तीन जनाको परिवारले सामाजिक सुरक्षा बीमाको १२ लाख रुपैयाँ पाएका हुन् । रोका र खत्री जस्तै सन् २०२४ सेप्टेम्बर १३ मा मृत्यु भएका कालीगण्डकी गाउँपालिका –३ का सूर्यबहादुर पाण्डे क्षेत्रीको परिवारले सामाजिक सुरक्षा बीमाको ४९ लाख ९९ हजार, भीरकोट नगरपालिकाका कुलबहादुर सुनारको परिवारले ३४ लाख ७१ हजार, खुमानाथ लामिछानेको परिवारले ३५ लाख ८५ हजार रुपैयाँ पाएका छन् ।
यस्तै, चापाकोट नगरपालिका –४ का बेगबहादुर थापाको परिवारले २६ लाख २२ हजार ४०४ रुपैयाँ र पुतलीबजार नगरपालिका –१४ का राजेन्द्रकुमार राईको मृत्यु भएको १४ वर्षपछि परिवारले १२ लाख ३२ हजार ३२० रुपैयाँ प्राप्त गरेका हुन् । आप्रवासी स्रोत केन्द्र स्याङ्जाका परामर्शकर्ता रमेश पौडेलले वैदेशिक रोजगारीका सिलसिलामा विदेशी भूमिमा काम गर्ने क्रममा दुर्घटना, रोग तथा अन्य कारणले मृत्यु भएका श्रमिकका परिवारलाई साउदी अरबको सामाजिक सुरक्षा बीमाअन्तर्गतको आर्थिक सहायता उपलब्ध गराइएको बताए ।
श्रमिकको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा बीमा प्रणाली प्रभावकारी बन्न थालेको भन्दै परामर्शकर्ता पौडेलले विदेशमा कार्यरत नेपाली श्रमिकले यो प्रणालीमा अनिवार्य सहभागिता जनाउनुपर्नेमा जोड दिए ।
परिवार गुमाउँदाको पीडामा पाएको राहत रकमले पीडित परिवारलाई केही सहज भएको पौडेलको भनाइ छ । केन्द्रले सन् २००७ देखि साउदी अरबमा रोजगारीका क्रममा मृत्यु भएका सात जना श्रमिकका परिवारलाई दुई करोड २१ लाख ७६ हजार ७२४ रुपैयाँ प्रदान गरेको हो ।
विदेशमा ज्यान गुमाएका बिरुवा गाउँपालिका –८ का नीरजसुक्मे गुरुङ, अर्जुनचौपारी गाउँपालिका –२ का रेसमबहादुर कामी र अर्जुनचौपारी –३ का कृष्णबहादुर विकको सामाजिक सुरक्षा बीमा रकमका लागि प्रक्रिया अघि बढिरहेको छ ।