Syangja Dainik Media
लामाचौर–चनौटे र स्थानचौर जोड्ने दुई नयाँ पुल सञ्चालन

स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एकैपटक दुई नयाँ पुल सञ्चालनमा ल्याएको छ । फेदीखोला गाउँपालिका –२ का लामाचौर–स्थानचौर र लामाचौर–चनौटे जोड्ने दुई नयाँ पुलहरू आजदेखि सञ्चालनमा ल्याइएको हो ।

नेपाल सरकारको क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत अन्धा अन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको सामाजिक तथा प्राविधिक सहयोग र उपभोक्ता समितिको नेतृत्वमा पुल निर्माण गरिएको हो ।

लामाचौर–चनौटे जोड्ने ९० मिटर लामो पुल ७५ लाख ४३ हजार एक सय ७० रुपैयाँ ३४ पैसामा तयार भएको हो । त्यस्तै, लामाचौर–स्थानचौर जोड्ने ३२ मिटरको ट्रस पुल ३३ लाख ४८ हजार दुई सय पाँच रुपैयाँ ६३ पैसामा निर्माण भएको जनाइएको छ । निर्माण लागतमा सङ्घीय सरकारले ८५ प्रतिशत, गाउँपालिकाले १३ प्रतिशत र उपभोक्ताले २ प्रतिशत श्रमदानमार्फत सहभागिता जनाएका हुन् ।

लामाचौर–चनौटे पुलबाट एक हजार २६ जना र लामाचौर–स्थानचौर ट्रस पुलबाट ७७० जनाले प्रत्यक्ष लाभान्वित भएको अन्धा अन्धी सामुदायिक विकास केन्द्रका कार्यालय प्रमुख एक नारायण सापकोटाले बताए ।

स्थानीय विकासमा जनसहभागितालाई मुख्य आधार बनाएर पुल निर्माण गरिएको बताउँदै  गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले यो केवल संरचना बनेको दिन मात्र होइन, स्थानीयको वर्षौंदेखिको अपेक्षा पूरा भएको क्षण पनि भएको बताए ।

सुवेदीका अनुसार एकताबद्ध प्रयासले दुर्गमतालाई नजिक्याउँदै दैनिक आवतजावत सहज बनाउने लक्ष्य पूरा भएको बताउँदै सुवेदीले एकैपटक बनेका यी दुवै पुल संचालनमा आएसँगै विद्यालय, बजार तथा सेवा केन्द्र आवातजावतमा सहज भएको बताए ।

उक्त पुलहरूको नियमित अनुगमन र मर्मतका लागि समिति समेत गठन गरिएको छ । लामाचौर–स्थानचौर ट्रस पुलका लागि गंगा प्रसाद गौतम संयोजकत्वमा ५ सदस्यीय समिति, र लामाचौर–चनौटे सस्पेन्सन बृजका लागि इमानसिंह गोदार संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update