Syangja Dainik Media
बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

स्याङ्जाको बिरुवा गाउँपालिकाले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपीडितको उद्धार तथा राहतका लागि ३० लाख ७५ हजार ५८ रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको भदौ १६ गतेको निर्णयअनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने भएको छ ।

यस्तै, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको सेवा सुविधाबाट १० दिन बराबरको दुई लाख तीन हजार चार सय ५० रुपैयाँ सहयोग गरिने जनाइएको छ ।

अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलबबाट चार लाख ९९ हजार छ सय ४५ रुपैयाँ जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तह प्रथम र द्वितीय श्रेणीका शिक्षक तथा प्राथमिक तह प्रथम श्रेणीका शिक्षकको सात दिन, निम्नमाध्यमिक तह तृतीय तथा प्राथमिक तह द्वितीय र तृतीय श्रेणीका शिक्षकको पाँच दिन र बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको दुई दिन बराबरको तलबबाट १८ लाख ७१ हजार नौ सय ६३ रुपैयाँ सहयोग गरिने भएको छ ।

बिरुवा गाउँपालिकाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा संघसंस्थासँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update