स्याङ्जाको बिरुवा गाउँपालिकाले वडा नं. ७ मा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै स्थानीय नागरिकलाई वडामै पुगेर विभिन्न सेवा उपलब्ध गराएको छ ।
पालिकामा धाउनुपर्ने झन्झट कम गर्दै एउटै स्थानबाट धेरै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षमा पहिलो पटक सञ्चालन गरिएको उक्त घुम्ती शिविरबाट १०३ जना स्थानीय लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए ।
उनका अनुसार शिविरमा तीन जनाले नागरिकता सिफारिस सेवा लिएका छन् भने २९ जनाबाट राजस्व संकलन गरिएको छ । यस्तै दुई वटा योजना सम्झौता सम्पन्न गरिएको छ ।
शिविरमार्फत सात जनाले कृषि सेवा, २२ जनाले पशु सेवा, ९३ जनाले स्वास्थ्य सेवा, २७ जनाले आयुर्वेद सेवा, २५ जनाले मनोसामाजिक परामर्श तथा एक जनाले ज्येष्ठ नागरिक परिचयपत्र सेवा लिएका छन् ।
आगामी दिनमा पनि सबै वडामा पुगेर यस्ता घुम्ती शिविर सञ्चालन गर्दै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने तयारी गरेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताए ।





