Syangja Dainik Media
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो

स्याङ्जामा मतदाता नामावली अद्यावधिक गर्दा दुई हजार ५७२ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । मृत्यु भएका र दोहोरो नामावलीमा परेका मतदाताको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार हटाइएकामध्ये एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका मतदाता हुन् । कार्यालयले गत असोजमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो ।

अद्यावधिकका क्रममा मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन प्राप्त निवेदनका आधारमा ३४५ जनाको विवरण सुधार गरिएको थापाले बताए । त्यस्तै, ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको निवेदनका आधारमा मतदान केन्द्र परिवर्तन गरिएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीअनुसार २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका स्याङ्जाका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ पुगेको छ । तीमध्ये एक लाख २३ हजार ११२ पुरुष, एक लाख २५ हजार ९५० महिला र एक जना अन्य मतदाता छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुई लाख ४८ हजार ८१६ मतदाता कायम थिए । अद्यावधिकपछि अघिल्लो निर्वाचनको तुलनामा २४७ मतदाता थपिएका छन् ।

स्याङ्जामा ११ स्थानीय तह र ९७ वडा छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र, १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update