Syangja Dainik Media
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि

होराइजन फुटबल क्लब वालिङले आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पालाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै होराइजन च्याम्पियन बनेको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा दुवै टोलीले सुरुका पाँच–पाँच प्रहारमा समान ४–४ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो । निर्णायक चरणमा ज्योतिपुञ्जका सुनिल थापाको प्रहार बारमा लागेर फर्किएपछि होराइजनले ६–५ को नतिजासहित उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै होराइजनले तीन लाख रुपैयाँ, गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक द राइजिङ ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिए । उपविजेता ज्योतिपुञ्जले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका गोलरक्षक अनिष महतो प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताका विधागत पुरस्कारमा पनि होराइजनका खेलाडीको वर्चस्व रह्यो । उत्कृष्ट गोलरक्षक अनिष महतो र उत्कृष्ट खेलाडी होराइजनका कप्तान विश्वास श्रेष्ठ घोषित भए ।

त्यस्तै, उत्कृष्ट डिफेन्डरको पुरस्कार ज्योतिपुञ्जका आशिष गुरुङले पाए । प्रतियोगिताभर चार गोल गरेका ज्योतिपुञ्जका सुनिल थापा सर्वाधिक गोलकर्ता बने । फेयर प्ले टिमको पुरस्कार भने भदौरे क्लब अन्नपूर्ण, कास्कीले प्राप्त गर्‍यो ।

द राइजिङ ग्रुप चापाकोटको आयोजनामा कात्तिक १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, पाल्पा, कास्की, पर्वत र गोरखाका आठ टोली सहभागी थिए । सहभागी टोलीमा होराइजन क्लब वालिङ, भदौरे क्लब अन्नपूर्ण, ज्योतिपुञ्ज युवा क्लब रामपुर, चापाकोट फुटबल क्लब (द राइजिङ ग्रुप), बौद्ध शान्ति फुटबल क्लब पोखरा, मर्दीखोला युनाइटेड क्लब पर्वत, हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र स्याङ्जा युथ क्लब थिए ।

११ वर्षपछि चापाकोटमा आयोजना गरिएको प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । युवामा फुटबलप्रतिको आकर्षण बढाउने र खेलकुदमार्फत चापाकोटको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष घर्तीले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update