Syangja Dainik Media
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभाव नेपालमा पर्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंले कात्तिक ९ गते जारी गरेको सूचनाअनुसार चक्रवातको प्रभाव आज रातिदेखि नेपालमा देखिन सक्नेछ । कात्तिक १३ र १४ गते गण्डकी प्रदेशसहित विभिन्न स्थानमा यसको प्रभाव बढी पर्ने अनुमान गरिएको छ ।

उक्त अवधिमा चट्याङ, हावाहुरीसहित मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ । सम्भावित जोखिमको सूचीमा स्याङ्जा जिल्ला पनि रहेकाले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन प्रशासनले सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले सम्भावित जोखिमलाई ध्यानमा राख्दै धानबाली काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।

मौसम प्रतिकूल हुँदा सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नगराउन पनि प्रशासनले आग्रह गरेको छ । जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सार्नसमेत भनिएको छ ।

सम्भावित विपद् सामना गर्न सुरक्षा निकाय, स्थानीय तह, अत्यावश्यक सेवा प्रवाह गर्ने निकाय, रेडक्रस, स्वयंसेवक तथा अन्य सरोकारवाला संस्थालाई परिचालनको तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।

आम नागरिकलाई जोखिमबारे समयमै जानकारी गराउन तथा उपलब्ध जनशक्ति, दमकल, एम्बुलेन्स र डोजरलगायतका साधन तत्काल परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न प्रशासनले आग्रह गरेको छ ।

यस अवधिमा नेपाल मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीको पालना गर्न पनि प्रशासनले सबैमा अनुरोध गरेको छ ।

मौसमसम्बन्धी जानकारी लिन ११५५ मा सम्पर्क गर्न सकिनेछ । विपद्का बेला सहयोग आवश्यक परे १२३४, १०० वा १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update