Syangja Dainik Media
लागूऔषध मुद्दामा छुटेका युवक फेरि लागूऔषधसहित पक्राउ

लागूऔषध मुद्दामा पक्राउ परेर ३० हजार रुपैयाँ धरौटीमा छुटेका स्याङ्जाको वालिङका एक युवक फेरि लागूऔषधसहित पक्राउ परेका छन् ।

अदालतको फैसलाअनुसार कैद भुक्तान नगरी फरार रहेका २५ वर्षीय नरेन्द्र रनपाललाई खोज्ने क्रममा प्रहरीले उनको घरबाट गाँजाजस्तो पदार्थ र विभिन्न प्रकारका औषधि बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार वालिङ नगरपालिका–८ का रनपाललाई कात्तिक ९ गते वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको घरबाट गाँजाजस्तो देखिने ५५ ग्राम पदार्थ, बुप्रेनोर्फिनको एक एम्पुल, फेनरागनका दुई एम्पुल र डाइजिपामका दुई एम्पुल बरामद गरेको जनाएको छ ।

उनलाई कात्तिक १० गते स्याङ्जा जिल्ला अदालतमा पेस गरी लागूऔषध मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको डिएसपी अवस्थीले बताए ।

रनपाल यसअघि पनि लागूऔषध मुद्दामा पक्राउ परेका थिए । प्रहरीका अनुसार २०८२ फागुन १० गते उनी डाइजिपाम, फेनरागन र बुप्रेनोर्फिनका ११–११ एम्पुल तथा तीन थान सिरिन्जसहित पक्राउ परेका थिए ।

उक्त मुद्दाको अनुसन्धान पूरा भएपछि २०८३ वैशाख ५ गते उनलाई जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले ३० हजार रुपैयाँ धरौटीमा छाडेपछि उनी बाहिर रहेका थिए ।

यसैबीच, २०८३ जेठ २५ गतेको जिल्ला अदालतको फैसलाले रनपाललाई दुई महिना एक दिन कैद सजाय तोकेको थियो ।

उक्त सजाय भुक्तान नगरी फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजतलासका क्रममा घरबाट लागूऔषधजस्तो पदार्थ र औषधि फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद पदार्थको प्रकृति तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update