स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
गत साउनदेखि असोजसम्म जिल्लामा विभिन्न प्रकारका तीन हजार १८ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारबाहीमा परेका सवारीसाधनबाट कुल २८ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको हो । सबैभन्दा बढी जीप, कार तथा भ्यानमाथि कारबाही गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार तीन महिनाको अवधिमा ९१७ वटा जीप, कार तथा भ्यान कारबाहीमा परेका छन् । ती सवारीसाधनबाट नौ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, ९०९ वटा मोटरसाइकल तथा स्कुटरमाथि कारबाही गर्दा आठ लाख ४९ हजार पाँच सय रुपैयाँ संकलन भएको छ । ३८२ वटा बसबाट तीन लाख १३ हजार पाँच सय, ३३५ वटा ट्रकबाट दुई लाख ९५ हजार, २५८ वटा अन्य सवारीसाधनबाट दुई लाख छ हजार र २१७ वटा ट्र्याक्टरबाट एक लाख ७२ हजार रुपैयाँ राजस्व उठेको शाहीले जानकारी दिए ।
शाहीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्नुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
उनले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकले सवारीको गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग र सडक अनुशासनमा विशेष ध्यान दिनुपर्ने बताए । सवारीसाधनको नियमित जाँच गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ ।
यसैबीच, स्याङ्जामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर र २१ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरी प्रमुख शाहीले दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न चालक, यात्रु तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिए ।






