Syangja Dainik Media
स्याङ्जामा आज पहिलोपटक गुञ्जिँदै छ नेपथ्यको कन्सर्ट

चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको कन्सर्ट आज पहिलोपटक स्याङ्जामा गुञ्जिँदै छ । ‘गाउँ फर्क अभियान’सँग जोडेर स्याङ्जा युथ क्लबले आयोजना गरेको कन्सर्ट पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर मैदानमा हुँदै छ ।

‘एक कन्सर्ट, एक अभियान, हजारौँ सपना’ नारासहित हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । चाडपर्व सकिएपछिको फुर्सदिलो समयमा स्थानीयसँगै छिमेकी जिल्लाका दर्शकलाई समेत सांगीतिक मनोरञ्जन दिने उद्देश्यले कन्सर्ट आयोजना गरिएको क्लबका अध्यक्ष बाबु थापाले बताए ।

कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ । नेपथ्यका मुख्य गायक अमृत गुरुङको प्रस्तुति भने साँझ ६ देखि ८ बजेसम्म रहनेछ । मुख्य गायक गुरुङसहित नेपथ्य ब्याण्डको टोली स्याङ्जा आइपुगेको अध्यक्ष थापाले जानकारी दिए ।

कन्सर्ट व्यवस्थापन, सुरक्षा र दर्शकको सहज प्रवेशका लागि आवश्यक तयारी पूरा गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा करिब १० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ । स्याङ्जासहित छिमेकी जिल्ला कास्की, पाल्पा र पर्वतबाट समेत दर्शक आउने अपेक्षा आयोजकले गरेको छ ।

विद्यार्थीलाई सहुलियत, अर्ली बर्ड टिकट सकियो

कन्सर्टका लागि विद्यार्थी सहुलियत, अर्ली बर्ड र रेगुलर गरी तीन प्रकारका टिकटको व्यवस्था गरिएको थियो । विद्यार्थीका लागि एक हजार र रेगुलर टिकटको मूल्य १ हजार ५०० रुपैयाँ तोकिएको अध्यक्ष थापाले बताए ।

सीमित संख्यामा उपलब्ध अर्ली बर्ड टिकट बिक्री भइसकेको छ । रेगुलर टिकट पनि अब सीमित संख्यामा मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।

कन्सर्टको नाफा गाउँ फर्क अभियानमा

आयोजकले कन्सर्टलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवा सीप विकास, उद्यमशीलता, स्थानीय रोजगारी र पर्यटन प्रवर्द्धनसँग जोडेको छ । कार्यक्रमबाट प्राप्त नाफाको निश्चित हिस्सा ‘गाउँ फर्क अभियान’मा लगानी गरिने अध्यक्ष थापाले बताए ।

आयोजकका अनुसार कन्सर्टमा करिब ९४ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खर्च कटाएर ४० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । बचत रकम अभियानका गतिविधिमा लगानी गर्ने योजना छ ।

‘गाउँमा सीप, गाउँमा व्यवसाय, गाउँमा रोजगारी’ भन्ने अवधारणासहित अघि सारिएको अभियानले युवालाई आफ्नै गाउँमा अवसर खोज्न र उद्यम गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत कृषि, होटल तथा रेस्टुरेन्टलगायत व्यवसायसँग सम्बन्धित सीप विकास तालिम सञ्चालन गरिनेछ ।

अभियानमार्फत स्थानीय युवालाई व्यवसायसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने, स्थानीय उद्यमी तथा व्यवसाय प्रवर्द्धन गर्ने र गाउँमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ ।

स्याङ्जालाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्य पनि अभियानमा समेटिएको छ । स्याङ्जा युथ क्लबले आगामी दिनमा कृषि, होटल, रेस्टुरेन्ट, उद्यमशीलता, सीप विकास र रोजगारीका कार्यक्रमलाई क्रमशः विस्तार गर्ने जनाएको छ ।

संगीतलाई सामाजिक विकाससँग जोडेर युवालाई आफ्नै गाउँमा सम्भावना खोज्न प्रेरित गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update