
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरेको छ ।
सरकारी विद्यालयमा शैक्षिक गुणस्तर खस्किरहँदा यहाँको अर्जुनचौपारी गाउँपालिकाले शैक्षिक कार्यदलको समन्वयमा एक हप्ते बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरेको हो ।
यहाँको पाँच वडामा रहेका छ वटा माध्यमिक विद्यालय, मावि नभएको वडा नं–३ को कार्यालय र गाउँपालिका भवनमा शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो । जेठ ५ गतेदेखि वडागत रुपमा संचालन गरिएको उक्त कार्यक्रममा वडा र माविमा विद्यार्थी तथा अभिवावक सहभागी रहेका थिए भने गाउँपालिकामा शिक्षकहरु सहभागी रहेका थिए ।
विद्यार्थीलाई आफैं पढ्नुपर्छ भन्ने सोचको वृद्धि गर्न, शिक्षकलाई धर्म र कर्मका आधारमा पढाउनुपर्छ भन्ने बनाउन उत्प्रेरणात्मक कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । अध्यक्ष तिवारीले छोरा/छोरी विद्यालय पठाएपछि केहि गर्नुपर्दैन भन्ने सोचलाई परिवर्तन गरेर जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरेको बताए ।
दुई वर्ष पहिला केहिलाई समेटेर उत्प्रेरणात्मक कार्यक्रम गरेको बताउँदै अध्यक्ष तिवारीले अहिले पालिकाभित्रका कक्षा –४ देखि १२ सम्मका विद्यार्थी, सबै अभिभावक र पालिकाभित्रका सबै शिक्षकलाई कार्यक्रममा सहभागी गराएको जानकारी दिए । एक हप्ते कार्यक्रममा विद्यार्थी, अभिवावक र शिक्षकले धेरै सिकेको र कार्यक्रम फलदायी हुने अपेक्षा पालिकाले लिएको तिवारीले बताए ।
उक्त शैक्षिक उत्प्रेरणात्मक कार्यक्रमबाट यहाँका एक हजार ४०५ विद्यार्थी, एक हजार ३३५ अभिवावक र ३१२ शिक्षकहरु लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए । बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम अवधिभर रविकिरण श्रेष्ठले सहजिकरण गरेका थिए ।