Syangja Dainik Media
रोयल सहकारीले कमायो ५५ लाखभन्दा बढी खुद नाफा

रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ५५ लाख ५९ हजार ७४९ रुपैयाँ खुद नाफा कमाएको छ । सहकारीले २२ करोडभन्दा बढी निक्षेप संकलन गरी १८ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।

सहकारीको २५औँ साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थाले २२ करोड १४ लाख ५ हजार ८०३ रुपैयाँ ६१ पैसा निक्षेप संकलन गरेको छ । त्यस्तै, १८ करोड २५ लाख ९१ हजार ९४० रुपैयाँ ३ पैसा कर्जा लगानी गरेको छ ।

२०५९ जेठ ५ गते स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा स्थापना भएको सहकारीमा तीन करोड ६७ लाख ७६ हजार ४०० रुपैयाँ शेयर पुँजी र ६२८ जना शेयर सदस्य छन् ।

साधारणसभामा मुक्तिनाथ विकास बैंकका सञ्चालक भरतप्रसाद लम्सालले आर्थिक रूपमा बदनाम भएका व्यक्तिलाई राज्यका कुनै पनि निकायमा जिम्मेवारी दिन नहुने बताए ।

सहकारी ठगीका घटना बढिरहेको उल्लेख गर्दै उनले ठगी गर्नेहरूको दिन कहिल्यै राम्रो नहुने टिप्पणी गरे ।

उनले अहिले उद्यमीका लागि राम्रो अवसर रहेको भन्दै ऋण लिएर उत्पादनमूलक तथा उपयोगी काम गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, संस्थाका सल्लाहकार नारायणप्रसाद पौडेल, मुक्तिनाथ विकास बैंक गण्डकीका प्रमुख बाबुराम ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, उद्योग वाणिज्य संघ स्याङ्जाका महासचिव रविन केसी, नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, शेयर सदस्य बन्दना लम्साल र रामप्रसाद लम्सालले मन्तव्य राखेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले अध्यक्षको प्रतिवेदन, सचिव प्रकाश डोटेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष विपिन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक बद्रीप्रसाद श्रेष्ठ र कर्जा समिति संयोजक कुलानन्द लम्सालले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले कार्यक्रममा पत्रकार अर्जुन काफ्ले, नियमित बचतकर्ता खोपबहादुर कुँवर, उत्कृष्ट कारोबार गर्ने अमृता थापा र समाजसेवी लालप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । चारै जनालाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update