
स्याङ्जाको वालिङ् नगरपालिकाले कक्षा १—३ मा अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिम सम्पन्न गरेको छ । रुम टु रिडको प्राविधिक सहयोगमा एकीकृत पाठ्यक्रमसम्बन्धी दस दिने कष्टमाइज्ड तालिम वालिङ् नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो ।
शिक्षामा गुणात्मक सुधार ल्याउने उद्देश्यले संचालन गरिएको तालिममा नगरभित्र रहेका ६१ वटा सामुदायिक विद्यालयका कक्षा १—३ मा अध्यापन गराउने शिक्षहरुको सहभागिता रहेको थियो । असार ५ गते देखि दुई चरणमा संचालन गरिएको तालिम असार १५ गते सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिकाले शैक्षिक सुधारको लागि नयाँ कार्यक्रमहरु थप गर्ने योजना अघि सारेको बताइन् ।
पोशाकमा एकरुपता ल्याउन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने, प्रत्येक विद्यालयमा योग अभ्यास संचालन गर्ने र सामुदायिक विद्यालयमा संस्थागतजस्तै शैक्षिक गतिविधि संचालन गर्ने तिवारीले बताइन् । रुम टु रिड कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै उपप्रमुख तिवारीले भनिन्, 'अब कक्षा १—३ का विद्यार्थीले नेपाली मात्र होइन अंग्रेजी विषय पनि स्पष्ट र शुद्ध पढ्ने बानीको विकास गराउनेछौँ ।'
रुम टु रिडले गत वर्ष वालिङ् नगरभित्रका २० सामुदायिक विद्यालयमा कार्यक्रम संचालन गरेको थियो । विद्यार्थीहरूमा पढ्ने बानीको विकास र नेपाली उच्चारण शुद्ध भएको कारण यस वर्ष पनि थप २० विद्यालयमा रुम टु रिडको कार्यक्रम संचालन भएको हो ।
एकीकृत पाठ्यक्रमसम्बन्धी तालिममा रुम टु रिडको प्राविधिक सहयोगले शिक्षकहरुलाई नयाँ शिक्षण विधि, विद्यार्थीको सक्रिय सहभागिता र पाठ्यक्रमको उद्देश्य अनुसारको सिकाई रणनीति विकासमा सहयोग पुर्याउने शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताए ।
दस दिने कष्टमाइज्ड तालिमले नयाँ पाठ्यक्रमको संरचना, उद्देश्य र मूल्याकंन विधिको बारेमा शिक्षकहरुलाई गहिरो ज्ञानको विकास भएको रुम टु रिडका कार्यक्रम अधिकृत टेक बहादुर ढेँगाले बताए ।
तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयले व्यवहारमा लागू गराउँदा दीर्घकालीन रुपमा शिक्षाको गुणस्तरमा सुधार आउने नगरपालिकाले विश्वास लिएको छ ।