Syangja Dainik Media
स्याङ्जामा राष्ट्रिय पुस्तकालय दिवस: बालबालिकालाई बालसाहित्य पुस्तक वितरण

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा स्याङ्जामा बालबालिकालाई ६० वटा बालसाहित्य पुस्तक वितरण गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले फेदीखोला गाउँपालिकास्थित शिवालय माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा बालबालिकालाई बालकथा, बालकविता, बालगीत, बालनाटक, बालगजल, बालउपन्यासलगायतका पुस्तक हस्तान्तरण गरिएको हो ।

कार्यालयका प्रमुख जीवन पौडेलका अनुसार, बालसाहित्य पुस्तक वितरणले बालबालिकालाई सानैदेखि अध्ययनप्रति आकर्षित गर्नुका साथै देश र समाजप्रतिको दायित्वबोध गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

उनले भने, “रमाइलो तरिकाले पढ्ने बानीको विकास भएमा सामाजिक सद्भाव, संस्कृतिको संरक्षण, श्रमप्रतिको सम्मान, आत्मविश्वास, नैतिकता र अनुशासन जस्ता क्षेत्रमा पनि बालबालिकामा सकारात्मक परिवर्तन आउनेछ ।”

बालसाहित्य पुस्तकले बालबालिकामा भाषिक सीप विकास गर्नेदेखि सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने र ज्ञानविज्ञानसँग नजिक्याउने कार्यमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

वि.सं. २०६५ सालदेखि हरेक वर्ष भाद्र १५ गते नेपालभर राष्ट्रिय पुस्तकालय दिवस मनाउने परम्परा छ । यसै सन्दर्भलाई अघि बढाउँदै स्याङ्जामा यस वर्षको दिवस पुस्तक वितरणमार्फत मनाइएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update