Syangja Dainik Media
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी

जंगलमा खेर जाने कटुस र चिलाउनेका मुढामा च्याउ फलाएर बजार पुर्‍याउने काममा जुटेका छन्, स्याङ्जाको भीरकोट नगरपालिकाका यामप्रसाद अधिकारी ‘लक्ष्मण’ । भीरकोट–५ मा सुन्तला खेतीसँगै सिताके च्याउको व्यावसायिक उत्पादन थालेका उनले कृषि कर्मबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ (क) का नवनिर्वाचित प्रदेश सभापतिसमेत रहेका अधिकारीले खेर गइरहेको जमिन र वनमा उपलब्ध स्रोतलाई सदुपयोग गर्दै सिताके च्याउ खेती सुरु गरेका हुन् ।

सुरुमा दुईवटा टनेलबाट नमुनाका रूपमा थालिएको खेती अहिले १ हजार ६ सय मुढासम्म विस्तार भएको छ । अहिले च्याउको दोस्रो चरणको उत्पादन भइरहेको छ भने दैनिक करिब ५० किलो बजारमा पठाइरहेको अधिकारीले बताए ।

औषधीय गुणयुक्त मानिने सिताके च्याउ प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । यसबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ । सुन्तला बिक्रीबाट पनि पाँच लाख रुपैयाँ आम्दानी गर्ने योजना बनाएका छन् ।

‘उत्पादन गर्न सके बजारको समस्या छैन । अर्गानिक र औषधीय गुणयुक्त भएकाले सिताके च्याउ धेरैको रोजाइमा परेको छ,’ अधिकारीले भने, ‘अहिले भीरकोट र वालिङमा बिक्री भइरहेको छ । सामाजिक सञ्जालको माध्यमबाट देशका मुख्य सहरसम्म पुर्‍याउने सोच छ ।’

अधिकारी भीरकोट–५ का पूर्ववडाध्यक्ष पनि हुन् । राजनीति र समाजसेवामा सक्रिय रहँदा समयको अभाव हुने भए पनि फुर्सद मिल्नासाथ खेतबारी र च्याउका टनेलमा पुग्ने गरेको उनले बताए । च्याउ फार्म र सुन्तला बगानको दैनिक हेरचाह भने उनका बुवाआमाले गर्दै आएका छन् ।

‘समयको अलि अभाव भएकाले सोचेजति राम्रो गर्न सकेको छैन । तर फुर्सद हुनासाथ कृषिमै रमाउँछु,’ उनले भने, ‘गाउँका हरेक नागरिक कुनै न कुनै उत्पादनमूलक काममा जोडिनुपर्छ र उत्पादनलाई बजारसम्म पुर्‍याउनुपर्छ भन्ने मेरो सन्देश हो ।’

कृषिसँगै अधिकारीले भीरकोट र वालिङ नगरपालिकास्थित मुख्य बजारमा ‘सफल फर्निचर’ व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । स्याङ्जामा स्थापित उक्त व्यवसायले झन्डै एक दर्जन स्थानीयलाई रोजगारी दिएको छ ।

फर्निचरका दुईवटा सोरुम उनकी श्रीमती र बुहारीले सम्हाल्दै आएका छन् । पारिवारिक सहकार्यका कारण आफूलाई कृषि र सामाजिक कामका लागि समय निकाल्न सहज भएको उनको भनाइ छ ।

अधिकारी जेसीज र लायन्स क्लबमार्फत सामाजिक गतिविधिमा पनि सक्रिय छन् । विपद्का बेला राहत तथा उद्धारमा सहभागी हुँदै आएका उनी भीरकोट र वालिङका स्थानीयसँग नियमित सम्पर्कमा रहने गर्छन् ।

राजनीति र व्यवसायसँगै कृषिलाई उत्पादन र आत्मनिर्भरताको आधार बनाउनुपर्ने अधिकारीको मान्यता छ । सुन्तला र सिताके च्याउ खेती विस्तार गर्दै स्थानीयलाई पनि उत्पादनमूलक काममा जोड्ने र कृषि उपजको बजार बढाउने उनको लक्ष्य छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update