Syangja Dainik Media
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा

स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा जारी आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगितामा होराइजन क्लब वालिङ र ज्योतिपुञ्ज युवा क्लब रामपुर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएका खेलमा होराइजनले आयोजक द राइजिङ ग्रुप चापाकोटलाई २–० गोलले र ज्योतिपुञ्जले भदौरे क्लब अन्नपूर्णलाई ६–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

यसअघि प्रतियोगिताको पहिलो दिन भएका खेलबाट बौद्ध शान्ति फुटबल क्लब पोखरा र हिल्ली फिल्डर्स गोरखा फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

बौद्ध शान्तिले मर्दीखोला युनाइटेड क्लब पर्वतलाई ४–० गोलले हराएको थियो । त्यस्तै, हिल्ली फिल्डर्सले स्याङ्जा युथ क्लबलाई निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा सडन डेथमार्फत पराजित गरेको थियो ।

सोमबारको पहिलो खेलमा होराइजनले आयोजक द राइजिङ ग्रुपलाई दबाबमा राख्दै जित निकालेको हो । खेलको २६औँ मिनेटमा टीकाराज गुरुङले गोल गर्दै होराइजनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको होराइजनका लागि दोस्रो हाफको ६८औँ मिनेटमा गणेश हमालले अर्को गोल थपे । दुई गोलको जितसँगै सेमिफाइनल पुगेको होराइजनका कप्तान विश्वास श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ज्योतिपुञ्ज युवा क्लबले भदौरे क्लबमाथि ६–१ गोलको फराकिलो जित निकाल्यो । खेलको २२औँ मिनेटमा सौरभ क्षेत्रीले गोल गर्दै ज्योतिपुञ्जलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा सुनिल थापाले गोल थपेपछि टोली २–० को अग्रतासहित मध्यान्तरमा गएको थियो ।

दोस्रो हाफमा ज्योतिपुञ्जले गोलको वर्षा नै गर्‍यो । ३७औँ मिनेटमा बसन्त कुमालले गोल गरे भने ४०औँ मिनेटमा सुनिल थापाले व्यक्तिगत दोस्रो गोल थपे । उनले खेलको ५०औँ मिनेटमा तेस्रो गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे ।

भदौरेका कुञ्जन पौडेलले ५८औँ मिनेटमा एक गोल फर्काए पनि टोली खेलमा फर्कन सकेन । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सोजित रुचालले ६९औँ मिनेटमा गोल गरेपछि ज्योतिपुञ्जले ६–१ को जित पक्का गर्‍यो । ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका सुनिल प्लेयर अफ द म्याच घोषित भए ।

द राइजिङ ग्रुप चापाकोटको आयोजनामा कात्तिक १५ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ ।

आयोजकका अध्यक्ष लालबहादुर घर्तीका अनुसार प्रतियोगितामा आठ टोली सहभागी छन् । सहभागी टोलीमा आयोजक द राइजिङ ग्रुप (चापाकोट फुटबल क्लब), होराइजन क्लब वालिङ, भदौरे क्लब कास्की, ज्योतिपुञ्ज क्लब रामपुर पाल्पा, बौद्ध शान्ति फुटबल क्लब पोखरा, मर्दीखोला युनाइटेड क्लब पर्वत, हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र स्याङ्जा युथ क्लब छन् ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष घर्तीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update