जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अब सेवा लिन आउने सेवाग्राहीले सरकारी सेवा मात्र होइन, निःशुल्क स्वास्थ्य सेवा पनि पाउने भएका छन् । पुतलीबजार नगरपालिकाको सहयोग र प्रशासन कार्यालयको समन्वयमा बिहीबारदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार हाललाई प्रत्येक हप्ताको सोमबार र बिहीबार हेल्थ डेस्क सञ्चालन हुनेछ । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको उनले बताए ।
विशेषगरी गाउँबाट सेवा लिन आउने ज्येष्ठ नागरिक, विपन्न तथा टाढाका सेवाग्राहीलाई यसबाट राहत पुग्ने प्रशासनको अपेक्षा छ । राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको भीड हुने भएकाले उनीहरूको स्वास्थ्य अवस्था जाँच गर्न र आवश्यक सहायता उपलब्ध गराउन सेवा सुरु गरिएको घिमिरेले बताए ।
हेल्थ डेस्क सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाएको छ भने सेवाग्राहीलाई आवश्यकता अनुसार एम्बुलेन्सको व्यवस्था समेत गरिने र कार्यालय समयभर एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय परिसरमै तयारी अवस्थामा रहने उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार कार्यालय समयमा सेवाग्राहीलाई प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । प्रशासनमा सेवा लिन आएका सेवाग्राहीमध्ये कोही बिरामी परेमा आवश्यक प्रारम्भिक औषधिको व्यवस्था समेत गरिनेछ ।
सेवा लिन आउने क्रममा स्वास्थ्य समस्या परेका सेवाग्राहीलाई तत्काल प्रारम्भिक सहायता उपलब्ध गराउने उद्देश्यले हेल्थ डेस्क सञ्चालन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।






