चर्चित नेपाली सांगीतिक समूह नेपथ्यले पहिलोपटक स्याङ्जामा लाइभ प्रस्तुति दिएको छ । आइतबार साँझ पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा आयोजित कन्सर्टमा गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका छन् ।
साँझ ६ बजेको केही मिनेटपछि रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका अमृतलाई दर्शकले ‘अमृत, अमृत’ भन्दै स्वागत गरे । उनले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु गरे । त्यसपछि ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ सुनाउँदा दर्शकले पनि स्वरमा स्वर मिलाए ।
लगातार तीन गीत गाएपछि दर्शकलाई अभिवादन गर्दै अमृतले स्याङ्जा आउन पाउँदा खुसी लागेको बताए । मंसिरको पहिलो साता पहाड र तराईमा धान काटेर दाइँ हाल्ने समयको प्रसंग निकाल्दै उनले स्याङ्जासँगको आफ्नो पुरानो सम्बन्ध सम्झिए । केही वर्षअघि आफू फिल्म हेर्न स्याङ्जा आएको प्रसंगसमेत सुनाए ।
त्यसपछि उनले ‘आँगनैभरि’, ‘खान्न म त लामपाते सुरती’, ‘चरी मर्यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले’ र ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’ लगायतका गीत प्रस्तुत गरे । गीत गाउँदै आफैँ छमछमी नाचेका अमृतलाई दर्शकले स्वर र हुटिङमार्फत साथ दिए ।
‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’ र ‘म नाचेँ छमछमी’ जस्ता गीतले पनि मालेबगरको माहोल तताए । ‘रेशम रेशम’ प्रस्तुत गर्ने क्रममा उनले ‘सानोमा सानो कमलको हाँगा रेशम, कोपिला बस्यो नङले गोडेर हो रेशम’ गाउँदा दर्शकले स्वरमा स्वर मिलाए ।
गीतबीच अमृतले आँधीखोला र मालेबगरबाट देखिने हिमशृङ्खलाको चर्चा गरे । दिउँसोको समयमा यहाँबाट अन्नपूर्ण दक्षिणलगायतका हिमाल देखिने स्मरण गर्दै उनले प्रकृतिको सुन्दरताबारे बोले । साथै, पर्यावरण र प्रकृति संरक्षणको महत्त्वबारे दर्शकलाई सम्झाए ।
मानिसहरू यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आएको उल्लेख गर्दै उनले मानव कल्याणमा सहयोग गर्न आग्रह गरे । समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको भन्दै उनले मानव कल्याणभन्दा ठूलो धर्म अरू नहुने बताए ।
कन्सर्टको मध्यतिर अमृतले देश निर्माणका लागि सबै एकजुट हुन आह्वान गर्दै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ प्रस्तुत गरे । त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ र ‘तालको पानी माछीले खाने’ गाउँदा दर्शकको उत्साह थप चुलियो ।
रातको करिब ८ बज्न लाग्दा कार्यक्रम समापन गर्ने तयारी थियो । तर दर्शकले ‘वान्स मोर’ भन्दै आग्रह गरेपछि अमृतले ‘तालको पानी माछीले खाने’ दोस्रोपटक गाए । अन्तिम प्रस्तुतिका रूपमा उनले राष्ट्रिय गीत ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ सुनाए ।
गीत प्रस्तुत गर्नुअघि उनले देशभन्दा ठूलो केही नहुने बताए । अभावका बीच पनि पुर्खाले देश जोगाउन गरेको योगदान स्मरण गर्दै उनले विभिन्न जातजाति, धर्म र समुदाय मिलेर बस्नुपर्ने सन्देश दिए । देशलाई राम्रो अवस्थामा पुर्याएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्ति बहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थिए ।
आँधीखोलाको किनारमा रहेको मालेबगर मैदानमा आयोजित कन्सर्टमा स्याङ्जासहित छिमेकी जिल्ला कास्की, पाल्पा र पर्वतबाट समेत दर्शक आएका थिए । स्याङ्जा युथ क्लबका अध्यक्ष बाबु थापाका अनुसार कन्सर्टमा तीन हजार ४४८ जनाले टिकट काटेर सहभागिता जनाएका थिए । र अन्य दर्शकहरूले अनलाइनमार्फत टिकट काटेर सहभागिता जनाएका थिए ।
कन्सर्टका लागि सीमित संख्यामा उपलब्ध अर्ली बर्ड टिकट एक हजार रुपैयाँ, विद्यार्थी टिकट एक हजार रुपैयाँ र अन्य दर्शकका लागि एक हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।
स्याङ्जा युथ क्लबले ‘गाउँ फर्क अभियान’सँग जोडेर कन्सर्ट आयोजना गरेको हो । अध्यक्ष थापाका अनुसार कन्सर्टबाट प्राप्त नाफाको निश्चित हिस्सा अभियानमा लगानी गरिनेछ । अभियानअन्तर्गत कृषि, होटल तथा रेस्टुरेन्टलगायत क्षेत्रमा सीप विकास तालिम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।






