
एउटा प्रोजेक्टको खाका कोर्दै थिएँ । साउनको महिना झम-झम पानी परिरहेको थियो । नेपथ्यमा एम्बुलेन्सको हर्न सुनेँ । झ्यालको पर्दा खोलेर हेर्दा छिमेकी दिनेशको घर अगाडी भीरकोट नगरले सञ्चालन गरेको एम्बुलेन्स रोकियो । सरिताले काखमा नवजात शिशु च्यापेर ओर्लिन् । दिनेश स्मार्ट फोनमा कसैसँग कुरा गर्दै थिए । सायद पहिलो सन्तानको बाबु भएकोमा खुसी साट्दै ।
नगरअस्पतालको स्तरोन्नतिसँगै नौ जना विशेषज्ञ डाक्टर, ५० जना नर्स र थुप्रै स्वास्थ्य कर्मचारी छन् । अस्पतालले अत्याधुनिक सेवा दिइरहेको छ । हरेक वार्डमा स्ट्याण्डबाइ एम्बुलेन्सको व्यवस्था गरेपश्चात भीरकोटबासीहरुको गुणस्तरिय स्वास्थ्यमा पहुँच पुगेको छ ।
दिनेशको विगतलाई सम्झेँ, पाँच वर्ष पहिले कतारबाट नेपाल फर्केको हो उ । नगरका विकट भनिने कुना-काप्चामा समेत बाह्रै महिना यातायातको सुविधा, सबै जनतामा आधारभूत शिक्षा र स्वास्थ्यको पहुँच, जनमुखि शासन -प्रशासन, गाउँघरमै कृषकले उत्पादन गरेका कृषि उपज, दुध, दहि, आदि संकलन गर्ने कृषि संकलन केन्द्र, गाउँ-गाँउमा घरेलु उद्योगहरुको स्थापनासँगै दिनेश जस्ता धेरै युवाहरु आफ्नो गाउँ फर्केका छन् । कतिले विदेशमा आर्जन गरेको पूँजी र सीप प्रयोग गरि उद्यमी बनेका छन् । कतिले रोजेको पेशा व्यवसाय गरेका छन् । नगरले यस्ता नवउद्यमीहरुलाई प्रोत्साहित गर्दै आएको छ ।
आजभन्दा २० वर्ष पहिले इडिभी परेर अमेरिकामा गएर त्यहीँको नागरिक भइ बसेका दुई साथीहरुले ग्रीन कार्ड त्यागेर आफ्नो गाउँमा आएर एउटा आइटी कम्पनी खोल्ने योजना बनाएको कुरा अस्ति मात्र सुनाउथे ।
गाउँमा बाँझो जमिन, भीरपाखा कतै बाँकी छ र अंकल ? भनेर पल्लो घरको भतिजले जापानबाट सोधेको थियो । यस्तो होला भन्ने सोचिएन । आफ्नै गाँउमा आएर जापानमा गरेको आधुनिक कृषि गर्न मन छ । आखिर यहाँ पनि कमाउने एक लाख हो! त्यहाँ त अझ संभावना छ रे! राम्रो बजार छ रे, हाम्रो गाउँको जडीबुटी र नगदेबाली त विदेश पो निर्यात हुन्छ रे नी अंकल ? मैले भने हो भतिज!
भीरकोटका स्कुलमा राम्रो पढाइ छैन, बयरघारीमा घर मात्र भएर के गर्नु, व्यापार व्यवसायमा गिरावट छ भनेर पाँच साल अगाडी पोखरा बसाइँसराइँ गरेका तीनजना व्यापारी गत हप्ता भीरकोट फर्के । छोरा छोरीलाई यो सालदेखि यहीँको विद्यालयमा भर्ना गराउन चाहे पनि, विचरा तिनीहरु प्रवेश परीक्षामा नै असफल भएछन् । विगत पाँच वर्षदेखि भीरकोट शिक्षाको हब बनेसँगै भीरकोटबासीले मात्र होइन छिमेकी स्थानीय तहका अभिभावकहरुले पनि यहाँका सामुदायिक र संस्थागत शिक्षणसंस्थामा छोराछोरी भर्ना गराउन ठूलै प्रतिस्पर्धा गर्नुपरेको छ । के गर्नु हरेक विद्यालयमा कोटा सिमित छन्, प्रवेश परीक्षामा पास हुनेले त पढन पाउने अवस्था नहोला जस्तो छ । जनघनत्व प्रतिवर्ग किमि एक हजार पुगिसक्यो ।
भीरकोटमा साना ठूला गरी करिब पाँच हजार उद्योग धन्दाहरु स्थानीय तहमा दर्ता छन् भन्ने सुन्छु । न्युनतम कर लिँदा पनि करिब एक अर्ब आम्दानी भएको थियो रे गत साल । यो साल त सायद दुई अर्ब नाघ्छ होला! जनताले तिरेको कर भन्दा सयौं गुणा सेवा सुविधा पाईएको छ । धन्य भीरकोट सरकार !
हरेक गाउँ पुग्ने चिल्लो बाटो, घरघरमा सफा पानीका धारा, विद्युतिय सवारी साधन, खिलुङ् कालिका, स्वरेक मैदान पुग्न केवल कार यी सब भीरकोट सरकारले आफ्नै बजेटबाट बनाएका पूर्वाधार हुन् । आखिर असल र सक्षम नेतृत्व, चेतनशील, उद्यमी र कर्तव्यनिष्ठ जनता भएपछि असम्भव के नै रैछ र ?
भीरकोटका धनाढ्यहरुले जुसको मल्टिनेशनल कम्पनी खोल्नको लागि सम्भाव्यता अध्ययन गर्दै छन् भन्ने समाचार सुनेको थिएँ, भीरकोट टेलिभिजनबाट, सायद छिटै खुल्नेछ । यहाँका उद्योग व्यवसायीहरु लगानी गर्न तछाड मछाड गरिरहेका छन् । वाह ! हामी भीरकोटबासी कति भाग्यमानी!
गाउँघरमा स्थापित होमस्टे अझै पर्याप्त भएनन् भन्ने खबर सुनेको छु भीरकोटका मिडियाबाट । हुनपनि हो, दिनहुँ हजारौंको संख्यामा आउने स्वदेशी र विदेशी पर्यटकहरुले खचाखच छन् हरेक गाँउका होमस्टेहरु । अब अझै थप्नु पर्ने देखियो । आम युवाहरुका अगाडी अवसरका खात छन् हाम्रो पालामा यस्तो भएको भए किन विदेशीनु पर्थ्यो र? सिरानघरे काकाले भन्नुभयो ।
उद्योग धन्दाको तीव्र विकास र विस्तार भएपनि हाम्रो नगर नेपालकै पहिलो स्वच्छ र सुन्दर नगर घोषणा भएकोमा गर्व लाग्छ । नगरका वातावरणविज्ञहरुको योजना, जनताको चेतना र जनप्रतिनिधिहरुको भिजनले गर्दा होला यो सब सम्भव भएको! आँधीखोलाको कन्चन पानी, जलचरको प्रयाप्त अस्तित्व, खोला छेउमा हरियाली रुखका पंक्ति, राष्ट्रियस्तरको खेलमैदान, स्वरेक मैदानमा अन्तराष्ट्रिय स्तरको प्याराग्लाडिङ सेन्टर, पकानमा तीनवटा ठूला अर्गानिक तरकारी फार्म, चिउरी खर्कको अर्गानिक मह, गाउँगाँउका सुन्तला, कागती, कफी आदिको बगान ! लुब्दिखोला नजिकैको मिनेरल वाटर उद्योगबाट ट्रकका ट्रक पानी पोखरा र काठमाडौं निर्यात भइरहेको छ । सिमलचौरबासी मेरा मित्रको घरमा पुग्दा मलाई जापान पनि यहि, मलाई अमेरीका यही … । । गुनगुनाउँदै हुनुहुन्थ्यो । करिब एक सयवटा गाई रहेको फार्म, डेरी उद्योग र ७० जना कामदार ! यो सब देख्दा छिमेकी स्थानिय तहलाई केही सिक्नुस न हामीबाट किन जनतालाई यहाँ बसाइँसराइँ गरि पठाउनुहुन्छ ? भन्न मन लाग्छ ।
सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पर्याप्त पेशा, व्यवसाय र रोजगारीको अवसर, स्वच्छ शहर आदिले नै होला देशभरिबाट भीरकोट बसाइँसराइ गरेर आउने दर उच्च छ । अबको केही महिनापछि भीरकोट सरकारले बाहिर बाट बसाइँसराइ गरी आउनेलाई निरुत्साहित गर्ने योजना बनाएको छ रे! स्वभाविक नै हो! यसरी नै जनसंख्या थपिने हो भने त कसरी धान्ला र यति सानो स्थानीय तहले ?
नगरअस्पताल दुई सय शैयाको हुँदा पनि छिमेकी जिल्लाबाट आउने बिरामीहरुलाई बेड पुगेको छैन भन्ने गुनासो सुन्छु । सबै रोगका विशेषज्ञ भएपछि स्वभाविकरुपमा बिरामीहरुको आकर्षण हुने नै भयो ।
……अचानक । । । । बाबा आज स्कुल जाने होइन सात बजि सक्यो त! छोरीको आवाजले झस्याङ ब्युँझे ? यो कस्तो सपना ? के यस्तो सम्भव होला ? हतार-हतार उठेँ । घर अगाडीबाट जिपले धुलो उडाउँदै गयो। तितो यथार्थ सम्झेँ! हतार-हतार आफ्नै दैनिकी सुरु गर्नुपर्ने थियो, त्यसैले धेरै सोच्ने समय रहेन!