
आज कानुन दिवस अर्थात् कानुन तथा न्याय क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण दिन । हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आइएको छ ।
प्रजातन्त्र आगमनसङ्गै वि. सं. २००८ सालमा प्रधान न्यायालय ऎन जारी भई राजा त्रिभुवनबाट वि. सं. २००९ साल वैशाख २६ गते लालमोहर लगाइएको रहेछ । यसै दिनलाई कानुन दिवसको रुपमा मनाउने गरिन्छ ।
कानुनको इतिहास लामो छ तर मलाई इतिहासभन्दा पनि वर्तमानसङ्ग जोडिन मन लाग्छ । कानुन भन्नेबित्तिकै कताकता न्याय भन्ने शब्द गुन्जिरहन्छ । कानुन न्यायको आशा नै हो । कानुन छ भनेपछि न्यायको आश सबैलाई लाग्छ तर त्यही आशा निराशा पनि बनेको छ ।
न्याय आजभोलि राजनीतिक पृष्ठले चल्न सक्ने बनेको छ । कानुन समानता र स्वतन्त्रताका लागि हो तर आज कमजोर वर्गका पीडित पक्षले न्याय पाउने सुनिश्चित भने छैन । यो प्रमाणित गर्न सक्ने क्षमता तपाईं र ममा नहोला तर न्याय कमजोर बनेको अनुभूति सबैले गरेका नै छौं । कानुन सबैको हो; न्याय अनुभूति सबैले गर्न पाउनुपर्छ ।
न्याय प्राप्त गर्न राजनीतिक शक्ति होइन, मात्र कानुन र त्यसको उचित कार्यान्वयनको आवश्यकता हुन्छ । नेपालको कानुनी इतिहास कमजोर भने छैन तर वर्तमानमा कानुन तथा न्याय क्षेत्र दिनहुँ कमजोर बन्दै गएको छ । यसको मुल कारण नै राजनीतिक शक्तिको गलत प्रयोग हो ।
चाहे त्यो सामान्य घरको कुनै पदले नछोएको व्यक्ति होस् वा जीवन्त: राजनीतिमा आवद्ध भएर पदमा रहेको व्यक्ति न्यायको पहुँच सबैलाई समान हुनुपर्छ । कानुन सबैलाई समान छ तर यसको कार्यान्वयन पनि सबैलाई समान हुनु आवश्यक छ ।
यस्तो महत्त्वपूर्ण दिवसमा पनि समस्या नै देखाउनुपर्ने ठूलो विडम्बना नै हो तरपनी अब भने कानुन तथा न्याय क्षेत्रमा विशाल परिवर्तन देखा पर्नेछ भन्ने ठूलो आशा छ । ७३ औं कानुन दिवसको हार्दिक सुभकामना !!!
इशान्त काफ्ले (कानुन विद्यार्थी)
पुतलीबजार नगरपालिका - १३, स्याङ्जा