
सिद्धार्थ राजमार्गको राङ्खोला-बिरुवा सदरमुकाम खण्डको राङ्खोला धोवादी सडक एकतर्फी सञ्चालनमा आएको छ ।
राङ्खोला धोवादीस्थित रातोपहेरा भन्ने स्थानमा साउन १३ गते भीषण पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । पहिरोले करिब ५० मिटर माथिबाट भासिएर ४० मिटर लम्बाइको सडक भाग पुरेको र छेउको बेससमेत भत्किएको थियो ।
सडक अवरोधको स्थलगत निरीक्षणका लागि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरको नेतृत्वमा सिद्धबाबा यातायात सेवा प्रालिका पदाधिकारी तथा निर्माण व्यवसायी प्रतिनिधिहरूले घटनास्थलको अवलोकन गरेका थिए । निरीक्षणका क्रममा सडकमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सफा गर्न नसकिएपनि पहिरो पन्छाउने कार्य अघि बढ्दै जाँदा हाललाई एकतर्फी रूपमा सडक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिएका छन् ।
बिरुवा क्षेत्रका सर्वसाधारण, यात्रु र सवारी चालकहरूलाई सावधानी अपनाउन, वैकल्पिक मार्गको प्रयोग गर्न तथा स्थानीय प्रशासनका सूचनाहरूमाथि ध्यान दिन अनुरोध गरिएको छ ।