Syangja Dainik Media
अर्जुनचौपारीले बेवारिसे दुई बालिकाको तुलसीपुरबाट उद्धार गर्‍यो

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नै आमाले छोडेर बेवारिसे बनेका दुई बालिकाको उद्धार गरेको छ ।

दाङको तुलसीपुरमा फलफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरी नफर्केपछि बेवारिसे बनेका नौ वर्षीया कृतिका र छ वर्षीया कृसिकालाई पालिकाले उद्धार गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाका दुई बच्चा बेवारिसे बनेको सामाजिक सञ्जालमा देखको एक घण्टामै उद्धारको लागि टोली खटाएको जानकारी दिए ।

जुपु क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा दुई बच्चाले अर्जुनचौपारी गाउँपालिका –२ घर भएको भिडीयो हालेसँगै आफू चड्ने पालिकाको गाडी नै चालकसहित टोली पठाएको र उद्धार गरेको तिवारीले बताए ।

पालिकाले थाहा पाएसँगै सोमबार नै पालिकाको टोली तुलसीपुर पुगको र मंगलबार जिम्मा लिएको तिवारीले जानकारी दिए ।

पहिलो घर काठमाडौँ भएका दुई बालिकासहित आमा पुजा दुई महिनाअघि अर्जुनचौपारीको वडा नं –२ खाल्टेका तारा बहादुर रोका(सेते)सँग आएकी थिइन् ।

भारत हिँडेका सेतेले बुटवलमा पुजासहित बालिका भेटेको र सल्लाहपश्चात् आफूले ल्याएको बताए ।

आफ्नो बाबुको नाम किशोर ठकुरी(रामेछाप) बताउँदै बालिका कृतिकाले नयाँ बाबुसँग आमासँगै आएको र सँगै बसेको बताइन् ।

आफ्नो पालिकाका बालिका बेवारिसे भएको थाहा पाएपछि उद्धार गरेको बताउँदै जो जहाँ जन्मिए पनि पालिकाको भनेपछि पहिलो चरणको दायित्व पूरा गरेको बताए ।

पालिकाले अब पुरानो बाबु, आमा र नयाँ बाबुको खोजी गरी सल्लाहपश्चात् अगाडि बढ्ने बताउँदै तिवारीले पहिलो बाबुसँग पठाएर, आमा वा नयाँ बाबुसँग पठाएर वा बालगृहमा पठाएर बालिकाको भविष्य राम्रो बन्छ सोहीअनुसार कदम चाल्ने बताए ।

बालिकाको भविष्यको बारेमा नयाँ विकल्प ननिस्केसम्म पालिकाले आफ्नै संरक्षणमा राख्ने बताइएको छ ।

यही असार १२ गते माइत जाने भनेर तीनजना हिँडेको र तुलसीपुरमा दुई बालिका अलपत्र बेवारिसे छाडेर आमा पुजा भागेको र प्रहरीले भेटेर मानवसेवा आश्रमलाई बुझाएको थियो ।

बालिकालाई १५ गते तुलसीपुर चोकमा प्रहरीले भेटेपनि मानवसेवा आश्रममा बुझाएपछि सामाजिक सञ्जालमा आएको थियो र पालिका उद्धारमा जुटेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update