
नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा जिल्ला कार्यसमितिद्वारा शहिद मनोज, झपेन्द्र र सुरेन्द्रको ३५ औं स्मृति दिवस भव्य रूपमा मनाइएको छ । स्मृतिमा श्रद्धाञ्जलि स्वरूप संगठनले जिल्ला स्तरीय अन्तर कार्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रतियोगितामा जिल्ला अदालत स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पार्यो । यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय दोस्रो र जिल्ला प्रशासन कार्यालय तेस्रो भएका छन् । फेदीखोला गाउँपालिका कार्यालयले सान्त्वना स्थानमा चित्त बुझायो ।
बिहीबार सम्पन्न हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा १० वटा विभिन्न कार्यालयहरूको सक्रिय सहभागिता रहेको जानकारी संगठनकी अर्चना शर्माले दिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सदस्य एवं प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले निजामती कर्मचारी संगठन स्याङ्जाले कर्मचारी हितमा खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले कर्मचारीहरूले आफ्ना अधिकारसँगै जनता प्रतिको सेवा र कर्तव्य पनि कुशलताका साथ निभाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस), उपप्रमुख खड्गराज सुवेदी, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, भूमि आयोग स्याङ्जाका अध्यक्ष तारा शर्मा, संस्थापक अध्यक्ष ख्यामनारायण अधिकारी, कर्मचारी युनियन अध्यक्ष पुरुषोत्तम कोइरालालगायतले शहिदको स्मृति र संगठनको योगदानबारे आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष विष्णु प्रसाद काफ्लेले गरेका थिए भने उपाध्यक्ष रमेश विकले स्वागत मन्तव्य, केन्द्रीय सदस्य राजु प्रसाद मरासिनीले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजेश कुँवरले गरेका थिए ।
शहिदको सम्झनामा सिर्जनात्मक तथा बौद्धिक चेतना अभिवृद्धि गर्ने प्रयासले स्याङ्जामा नयाँ ऊर्जा थपेको देखिन्छ ।