Syangja Dainik Media
स्याङ्जाबाट एक वर्षमै २९ जनाले नागरिकता त्यागे

आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जा जिल्लाबाट २९ जना नेपालीले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार, तीमध्ये सबैभन्दा धेरै ९ जनाले अमेरिकी र ५ जनाले बेलायती नागरिकता लिएका छन् ।

त्यस्तै, क्यानडा र हङकङमा ३/३ जना, अष्ट्रेलिया, पोर्चुगल र भारतमा २/२ जना, जापान, फिनल्यान्ड र नर्वेमा १/१ जनाले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका छन् । वि.सं. २०६७ साल जेठ ३ गतेदेखि हालसम्म स्याङ्जाबाट १०६ जनाले नेपाली नागरिकता परित्याग गरिसकेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार डीभी, पिआर लिने, विदेशी नागरिकसँग विवाह गर्ने जस्ता कारणले नेपाली नागरिकले विदेशी नागरिकता लिँदै जाने क्रममा नेपाली नागरिकता त्याग गर्नुपरेको हो ।

राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्य सुविधाको अभावजस्ता कारण देखाउँदै नेपाली युवायुवतीहरू विदेशिने क्रम बढ्दो छ । धेरैले स्थायी बसोबासपछि सोही देशको नागरिकता लिने गरेको पाइन्छ ।

आव ०८१/०८२ मै एक जना भने हङकङको नागरिकता त्यागी पुनः नेपाली नागरिकता लिएर फर्किएका छन् । यस्तै, १६ जना भारतीय नागरिकले अङ्गीकृत नागरिकता लिएका छन् भने २० जनाले गैरआवासीय नेपाली नागरिकता (NRN) प्राप्त गरेका छन् । वैवाहिक अङ्गीकृत नागरिकता लिनेहरूमा अधिकांश नेपालीसँग विवाह गरेका विदेशी महिलाहरू हुन् ।

गैरआवासीय नेपाली नागरिकता लिनेहरूलाई नेपालको राजनीतिक अधिकार र सरकारी रोजगारीबाहेक अन्य सम्पूर्ण सेवासुविधा, व्यापार, घर-जग्गा खरिद बिक्रीलगायतका अधिकार प्राप्त हुने पौडेलले बताए ।

आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जाबाट वंशजका आधारमा ७ हजार ८५५ जना, प्रतिलिपि ८ हजार ४८१ जना, अङ्गीकृत १६ जना र गैरआवासीय २० जना गरी कुल १६ हजार ३७२ जनाले नयाँ नागरिकता लिएका छन् । यसै वर्ष ११ हजार ८४२ जनाको राहदानी सिफारिस गरिएको छ ।

त्यस्तै, यसै वर्ष १० जनाको नागरिकता र एक जनाको प्रतिलिपि नागरिकता प्रशासन कार्यालयले रद्द गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update