Syangja Dainik Media
४७ औँ पुष्पलाल स्मृति दिवसमा ७४ युनिट रगत संकलन

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा रक्तदान कार्यक्रम गरिएको छ ।

राष्ट्रिय युवा संघ स्याङ्जाले गल्याङ नगरपालिका वडा नं. ३ मा आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको संघका सचिव राधाकृष्ण शर्माले जानकारी दिए ।

'रक्तदान जीवन दान, जीवन दान महादान' भन्ने नाराका साथ हरेक वर्ष गरिने रक्तदान मध्ये यो वर्ष ७० पुरुष र ४ महिला गरी ७४ जनाले रक्तदान गरेको सचिव शर्माले बताए ।

उक्त कार्यक्रममा युवा संघका केन्द्रीय महासचिव महेश चौलागाईंले युवा देश परिवर्तनको संवाहक भएको बताउँदै चौलागाईंले जनताको हिताको पक्षमा काम गर्न आगह गरे । उनले रक्तदान गर्नेलाई प्रमाणपत्र वितरण गरेका थिए ।

पौडेलको ३३ औं पटक रक्तदान
स्याङ्जाको आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले ३३ औँ पटक रक्तदान गरेका छन् । बुधबार आयोजित रक्तदान कार्यक्रममा पौडेलले जिल्लामै सबैभन्दा धेरै पटक रक्तदान गर्ने एक बनेका छन् ।

वि.सं. २०५४ मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रक्तदान गरेका पौडेलले २०६२ सालबाट वर्षमा एक पटक र बढीमा तीनपटकसम्म रक्तदान गरेको बताए ।

उनले पुष्पलाल स्मृति दिवसमा लगातार १४ पटक रक्तदान गरेको र कम्तीमा ५० पटक पुर्‍याउने लक्ष्य रहेको बताए ।

आफ्नो 'ओ' पोजेटिभ रगत समुह रहेको बताउँदै पौडेलले कसैलाई रगत आवश्यक परेमा आफूले दिने बताए ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update