Syangja Dainik Media
३२ वर्षपछि फेला परे कर्तव्य ज्यान मुद्दाका दोषी, पोखराबाट पक्राउ

३२ वर्षअघि घटेको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –२ (साविक रत्नपुर गा.वि.स.) मा भएको घटनाका दोषी ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको हो ।

सोतीमगरले वि.सं. २०५० साल फागुनमा गाउँकै एक विवाह कार्यक्रममा स्थानिय हस्ते विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा विकको मृत्यु भएपछि मुद्दा दर्ता भएको थियो । सो घटनामा सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत सोतीमगरलाई २ वर्ष कैद सजाय तोकेको थियो । तर, फैसला आएयता उनी फरार रहँदै आएका थिए ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अपरेशन टोलीले उनलाई २०८२ साउन १३ गते पोखरा महानगरपालिका –१७, तल्लो बिरौटा टोलस्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दोषीलाई अब कैद सजाय भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन विशेष अपरेसनहरू अझै तीव्र पारिने छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update