Syangja Dainik Media
नवग्रह मन्दिर क्षेत्रमा होमस्टेबाट धार्मिक पर्यटन बढाउने योजना

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको नेपालकै पहिलो नवग्रह मन्दिर आसपासको क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित गाउँपालिकाले होमस्टे (घरबास) कार्यक्रम अघि बढाएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै स्थानीय बासिन्दा तथा टोल समूहलाई होमस्टे सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको हो ।

नवग्रह मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई स्थानीय कला, संस्कृति, परम्परा र अर्गानिक खानपानसहितको आतिथ्यता प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । यसबाट एकातर्फ धार्मिक पर्यटन प्रवर्द्धन हुने र अर्कोतर्फ स्थानीयस्तरमा आम्दानीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्यालले बताए ।

स्थानीय सहभागितामै आधारित भएर नवग्रह क्षेत्रको विकास गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । “धार्मिक पर्यटनलाई दीगो र व्यवस्थित बनाउँदै स्थानीयलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,” उनले भने, “यसले गाउँको पहिचानसँगै आर्थिक गतिविधि पनि विस्तार गर्छ ।”

होमस्टे सञ्चालनका लागि निश्चित मापदण्डसमेत तोकिएका छन् । कम्तीमा दुईवटा सफा पाहुना कोठा, व्यवस्थित शौचालय, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, सात्विक भोजन र अनुशासित वातावरण अनिवार्य गरिएको छ । साथै, बेलुकीको समयमा भजन–कीर्तनमार्फत आध्यात्मिक वातावरण निर्माण गर्नुपर्ने व्यवस्था पनि राखिएको छ ।

दर्ता प्रक्रियाका लागि आमा समूह शाखाबाट तोकिएको फारम भर्नुपर्नेछ भने इच्छुकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । छनोटमा परेका घर वा समूहलाई गाउँपालिकाले तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update