Syangja Dainik Media
स्याङ्जा नागरिकता किर्ते मुद्दा : तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा

नागरिकता किर्ते गरेको आरोपमा मुद्दा चलाइएका जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

स्याङ्जा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं र फेदीखोला गाउँपालिका–२ का प्रयासी गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रहरी अनुसन्धानका आधारमा स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीहरूमाथि सरकारी लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने)मा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामाथि जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासमा बुधबार थुनछेक बहस सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आजसम्म बहस चलेको थियो । बहस सकिएसँगै इजलाशले थुनछेक आदेश दिएको हो ।

के हो प्रकरण ?

स्याङ्जाको साबिक आरुखर्क–८ का प्रयासी गुरुङका दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरिएका कागजात रुजु गर्दा उनको नाममा दुईवटा नागरिकता रहेको खुलेको थियो ।

अभिलेखअनुसार गुरुङले २०५६ चैत ३ गते साविक आरुखर्क–८, स्याङ्जाको ठेगाना राखेर पहिलो नागरिकता लिएका थिए । त्यसको करिब छ महिनापछि २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्कीको ठेगाना राखेर अर्को नागरिकता लिएको देखिएको थियो ।

दुईवटा नागरिकता भेटिएपछि कास्की प्रशासनले पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग मागेको थियो । सोही क्रममा स्याङ्जा प्रशासनको अभिलेखमा अनधिकृत हेरफेर भएको विषय खुलेको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताएका थिए ।

घिमिरेका अनुसार छानबिनका क्रममा लेखापाल रमेश बिकले कागजात तयार गर्ने, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने र प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले प्रमाणित गर्ने गरेको देखिएको थियो ।

कुनै निर्णय नै नभई निर्णयअनुसार नागरिकता रद्द भएको देखाउने गरी कागजात तयार पारिएको आरोप छ ।

गत भदौ १५ गतेको कार्यालयको सीसीटीभी फुटेजमा समेत उनीहरूको गतिविधि देखिएको प्रशासनको भनाइ छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिको प्रतिवेदनका आधारमा नागरिकता ऐनअनुसार अनुसन्धान र कारबाहीका लागि भदौ २६ गते नै प्रहरीलाई पत्राचार गरिएको थियो ।

तर, लामो समयसम्म प्रहरीले पक्राउ नगरेपछि आलोचना बढेको थियो । त्यसपछि दबाब बढ्दा उनीहरूलाई कात्तिक १६ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update