Syangja Dainik Media
म्याद थपिँदै, काम अधुरै : अर्जुनचौपारी–रापाकोट रणनीतिक सडक निर्माणमा ढिलाइ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय मिटर लामो सडक निर्माणका लागि पटक–पटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन ।

निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री सुनील लम्साललाई ठेक्का तोडेर कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाले २०८१ साउन १७ गते रुप/मिलन/लेभल वान जेभी, वालिङसँग ३ करोड २३ लाख ८३ हजार ३२० रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने थियो । सुरुमा २०८२ असार १५ गतेसम्मको म्याद तोकिएको थियो ।

निर्धारित समयमा काम पूरा नभएपछि पहिलोपटक २०८२ पुस १५ गतेसम्म र त्यसपछि २०८३ वैशाख १० गतेसम्म म्याद थप गरिएको थियो । पछिल्लो पटक २०८४ वैशाख १० गतेसम्मका लागि समय थप गरिएको छ । तर, पटक–पटक म्याद थपिँदा पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर पोषराज पौडेलका अनुसार सडकको वित्तीय प्रगति ४४ प्रतिशत र भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ ।

कार्यालय प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर (सीडीई) गुरुदत्त अधिकारीले निर्माण कम्पनीलाई पटक–पटक काम अघि बढाउन आग्रह गरे पनि प्रगति सन्तोषजनक नभएको बताए । उनका अनुसार कम्पनीले हालसम्म १ करोड ४० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।

निर्माण कम्पनीका तर्फबाट डार्विन गिरिले भने बाँकी काम आजदेखि नै अघि बढाउने बताएका छन् । यसअघि भएको ढिलाइबारे उनले चाडपर्व तथा कर्मचारी र प्राविधिक जनशक्तिको अभावलाई कारण देखाए । संरचनासम्बन्धी काम पूरा भइसकेको र बाँकी काम सुरु गर्न लागेको उनको भनाइ छ । आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गरी सडक हस्तान्तरण गर्ने तयारीमा रहेको उनले बताए ।

तीन वर्षअघि गाउँपालिकाको बजेटबाट सडकको माथिल्लो र तल्लो खण्ड निर्माण भइसकेका छन् । तर, बीचको भँगारी खण्ड अधुरै रहँदा स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ । उक्त सडकले गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ लाई जोड्छ ।

अध्यक्ष तिवारीले निर्माण कम्पनीप्रति कुनै पूर्वाग्रह नराखी काम अघि नबढेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका छन् । ठेक्का लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक पहल हुनुपर्ने उनको भनाइ छ । ‘लौ न, अब रुखमा बाँधेर काममा लगाउने हो कि ठेक्का तोडेर कारबाही गर्ने हो, सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ तिवारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update