राजनीतिमा सफलताको मापन केलाई मान्ने ? चुनाव जित्नुलाई मात्र वा जनताको जीवनस्तरमा ल्याएको परिवर्तनलाई ? आज म एउटा यस्तो दोसाँधमा उभिएर आफैँलाई प्रश्न गरिरहेको छु, जहाँ मेरा उपलब्धिहरू त देखिरहेका छन् तर जनमतको ऐना भने धमिलो देखिएको छ ।
हिजोको अर्जुनचौपारी सम्झिँदा आज पनि एउटा चित्र आँखा अगाडि आउँछ जुन पालिका कार्यसम्पादनका दृष्टिकोणले देशभरका पालिकाहरूको सूचीमा 'अन्तिम' स्थानमा थियो । कसैले नचिताएको र आशा मारिसकेको त्यो दुर्गम भूगोललाई हाम्रो जनप्रतिनिधि र कर्मचारीको टोलीले एक ढिक्का भएर काँध हाल्यौँ । हामीले गफ र आश्वासनको खेती गरेनौँ, बरु 'सुशासन' लाई मूल मन्त्र बनायौँ ।
सेवा प्रवाहलाई यति चुस्त र पारदर्शी बनायौँ कि एउटा सामान्य नागरिकले सरकारी कार्यालय आउँदा कुनै भनसुन वा सास्ती खेप्नु परेन । भ्रष्टाचारलाई शून्यमा झार्नु हाम्रो पहिलो सर्त थियो र त्यसमा हामी कहिल्यै लचिलो भएनौँ ।
हामीले कुनै पनि स्वार्थ समूहलाई नीतिगत निर्णयमा हाबी हुन दिएनौँ । काम गर्दा 'मेरो र तेरो' भनेर कहिल्यै पार्टीगत चस्माले हेरेनौँ र विभेद गरेनौँ । आफ्ना कार्यकर्ता पाल्नका लागि ढुकुटी सिध्याउने 'वितरणमुखी' कार्यक्रम ल्याउनुको साटो हामीले जगदेखिको विकास रोज्यौँ । भूगोलको विकटताले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै घर-घरमा स्वास्थ्य सेवा पुर्यायौँ । एक इन्च पनि पिच बाटो नभएको पालिकाका दुर्गम गाउँ-गाउँमा आज चिल्ला कालापत्रे सडकहरू पुगेका छन् । यो कुनै चमत्कार थिएन, हाम्रो दृढ इच्छाशक्तिको प्रतिफल थियो । विद्यालयहरूमा वास्तविक पढाइ हुने वातावरण सुनिश्चित गर्यौँ ।
यति मात्र होइन, 'नवग्रह' जस्ता धार्मिक र पर्यटकीय माध्यमबाट अर्जुनचौपारी र स्याङ्जाको गरिमालाई देश-विदेशमा चिनाउन सफल भयौँ । जसको फलस्वरूप हामीले कैयौँ राष्ट्रिय स्तरका पुरस्कार र सम्मान पनि प्राप्त गर्यौँ ।
धेरैका लागि 'महिला सशक्तीकरण', 'युवा सशक्तीकरण' र 'जातीय विभेद अन्त्य' केवल चुनाव जित्ने आकर्षक नारा मात्र हुन् । तर हामीले यी विषयलाई चुनावी भाषणमा मात्र सीमित राखेनौँ । हामीले यसलाई व्यवहारमै उतार्यौँ । राष्ट्रिय स्तरमा जुन नाराहरू सुनिन्छन्, ती कुराहरूलाई अर्जुनचौपारीका जनताले प्रत्यक्ष देख्ने र अनुभूति गर्ने गरी कार्यान्वयनमा ल्यायौँ ।
म यो दाबी गर्दिनँ कि हामीले सबै कुरा पूर्ण गर्यौँ । केही क्षेत्रमा अझै काम गर्न बाँकी थियो, कतिपय योजनाहरू समय अभाव वा स्रोतको कमीले सोचेजस्तो हुन सकेका थिएनन् । तर जति गर्यौँ, अर्जुनचौपारीको भविष्यलाई केन्द्रमा राखेर गर्यौँ र विरासतको चिहानमा उभिएको स्याङ्जाको साख फिर्ता ल्याउनुपर्छ भनेर गर्यौँ ।
"हाम्रा कुरा सुन्दैनन्" भन्ने आरोप हामीले धेरै खेप्यौँ । हो, हामीले ती कुराहरू सुनेनौँ जसले विधिको शासन र सुशासनलाई मिच्न खोज्थे । व्यक्तिगत स्वार्थ र अनुचित मागहरूका अगाडि हामी कहिल्यै झुकेनौँ । सुशासन कायम गर्ने सवालमा हामीले कसैसँग कुनै प्रकारको 'कम्प्रोमाइज' (सम्झौता) गरेनौँ । सायद, यही निस्वार्थ अडान नै धेरैका लागि 'अप्रिय' बन्ने कारण बन्यो ।
यस यात्रामा आफ्नै पार्टीका ती साथीहरू, जसका व्यक्तिगत र नाजायज स्वार्थहरू हामीले पूरा गर्न सकेनौँ, उनीहरू सुरुदेखि नै विरोधमा उत्रिएका थिए । त्यतिबेला हामीलाई लागेको थियो "केही स्वार्थी व्यक्तिहरू साथमा नभए पनि के भो र, आखिर आम जनता त हाम्रै साथमा छन् नि !" तर आज महसुस हुँदैछ, न ती स्वार्थी साथीहरू हाम्रो साथ रहे, न त जनता नै वास्तवमा हाम्रा साथमा रहेछन् ।
धेरैले भन्नुहोला "यो त राष्ट्रिय लहर हो, यसमा स्थानीय सरकारको के दोष ?" मलाई यो भ्रम थिएन कि म राष्ट्रिय राजनीतिको धारलाई एक्लै बदल्न सक्छु । तर मलाई र धेरै शुभचिन्तकहरूलाई एउटा ठूलो अपेक्षा थियो हामीले गरेका काम, बसालेको सुशासन र परिवर्तनका डोबहरू देखेर यहाँका जनताले केही फरक सोचिदिनेछन् । मैले सधैँ गर्वका साथ भन्ने गर्थें "जनता हाम्रै साथमा छन् र उनीहरू हामीले गरेका कामबाट खुसी छन् ।" तर यो जनमत र भोटको परिणामले मेरो त्यो दाबीलाई निर्ममतापूर्वक गलत साबित गरिदियो ।
हिजो "मैले राम्रो गरेको छु" भन्ने गर्वले छाती चौडा पारेर हिँड्ने म, आज जनमतको यो निर्मम प्रहारले खुम्चिएको महसुस गरिरहेको छु । जुन राष्ट्रिय नाराले देशमा दुई-तिहाइ ल्यायो, त्यही कुरा व्यवहारमा कार्यान्वयन गर्दा पनि आज जनताले साथ नदिँदा मलाई एउटा नयाँ पहिचान मिलेको छ । यो मतपरिणामले मलाई 'एक असफल नेता' को पगडी गुँथाइदिएको छ ।





