Syangja Dainik Media
के नेपालमा सम्भव र सम्भावना छ ?

मेचमा नेपाल युथ काउन्सिलको त्यो पत्र पल्टिरहेको छ—‘श्री प्रकाश तिवारी ज्यू, अध्यक्ष–अर्जुनचौपारी गाउँपालिका... विषय : युवा विमर्शका लागि लेख रचना उपलब्ध गराइदिने सम्बन्धमा ।’

पत्रको विषयवस्तुमा एउटा स्पष्ट मार्गदर्शन छ—युवामा सकारात्मक सन्देश प्रवाह गर्ने र ‘नेपालमा सम्भव छ’ भन्ने उत्प्रेरणा जगाउने ।

कागजमा आँखा दौडिरहँदा म भने टाइम मेसिन चढेर सिधै १३ वर्ष पछाडि, सन् २०१३ मा पुग्छु ।

त्यो बेला मेरो भर्खरै एमबीए सकिएको थियो । दिमागमा कर्पोरेट संसारका ठूला रङ्गीन सपनाहरू थिए । इन्भेस्टमेन्ट बैंकिङमा करियर बनाउने, स्टक मार्केट र आधुनिक वित्तीय औजारसँग खेल्ने एउटा हुटहुटी थियो । सिंगापुरको ‘टेमासेक होल्डिङ्स’ जस्ता बहुराष्ट्रिय सार्वभौम कोषमा इन्भेस्टमेन्ट म्यानेजर वा कन्सल्टेन्ट बन्ने एउटा स्पष्ट करियर सपना थियो ।

त्यो बेला अगाडि दुईवटा बाटा थिए—‘टियर वान’ देशहरूमा पुगेर त्यो सपना साकार पार्ने कि नेपाल फर्कने ?

म र मेरो परिवार सधैँ एउटा दोधारमा बाँचिरह्यौँ । सम्झिन्छु, प्लस–टु पढ्दै गर्दा अस्ट्रेलिया एउटा नयाँ र आकर्षक गन्तव्यका रूपमा उदाउँदै थियो । हाम्रा ब्याचका करिब ९० प्रतिशत साथीले त्यही बाटो रोजे र आज उनीहरू उतै सेटल छन् ।

प्लस–टुमा पनि त्यही द्वन्द्व भयो, ब्याचलर्स सकिँदा पनि त्यही दोधार रह्यो र मास्टर्स सकेपछि त झन् निर्णयको घडी नै आयो ।

त्यो बेला मैले एउटा गम्भीर ‘स्वाट एनालाइसिस’ गरेँ । नेपालमा इन्भेस्टमेन्ट बैंकिङ र स्टक मार्केटको अवस्था एकदमै प्रारम्भिक र कमजोर थियो । तर, मैले आफूलाई एउटा प्रसिद्ध अफ्रिकी चप्पल कम्पनीको कथा सुनाएर सम्झाएँ ।

एउटा कम्पनीले अफ्रिकामा कसैले चप्पल नलगाएको देखेर ‘यहाँ बजारै छैन’ भन्यो । तर अर्को दूरदर्शी कम्पनीले ‘यहाँ त कसैले चप्पल लगाएका छैनन्, त्यसैले सबैलाई चप्पल बेच्न सकिने विशाल बजार छ’ भन्ने निष्कर्ष निकाल्यो ।

मैले पनि सोचेँ—नेपाल वित्तीय औजारका हिसाबले खाली क्यानभास हो । यहाँ जे कोरे पनि नयाँ इतिहास बन्छ । यहाँ ठूलो बजार बनाउन सकिन्छ ।

त्यो निर्णयको जगमा हाम्रो पारिवारिक पृष्ठभूमि र बुवाको अटुट प्रेरणा पनि थियो । मेरो दाइ टोरन्टो हस्पिटल, क्यानडामा क्रिटिकल केयरको फेलोसिप सकेर दुई वर्ष काम गरेलगत्तै बुवाकै चाहनाअनुसार तुरुन्तै नेपाल फर्किनुभयो ।

बुवा जहिले भन्नुहुन्थ्यो, ‘बाहिर जाने होइन, जे गर्ने हो आफ्नै देशमा गर्नुपर्छ ।’

एक समय बुवा समाजमा बडो गर्वका साथ छाती फुलाएर भन्नुहुन्थ्यो, ‘मेरा दुवै छोराहरू नेपालमै छन्, यहीँ बसेर राम्रो गरिरहेका छन् ।’

तर समय सधैँ सोचेजस्तो सरल रेखामा हिँड्दो रहेनछ ।

आज नेपाल फर्केको १२ वर्ष पूरा भएर १३ औँ वर्षमा लाग्दै गर्दा केही दिनअघि ममीले सुनाउनुभएको बुवाको एउटा कुराले मलाई भित्रैदेखि हल्लाइदिएको छ ।

बुवाले ममीसँग भन्नुभएछ, ‘मैले दुवै छोरालाई विदेश जान नदिएर, यहीँ बस भनेर गल्ती त गरिनँ ? कम्तीमा एउटा छोरो विदेशमा भएको भए एउटा ‘अल्टरनेटिभ’ अर्थात् विकल्प बी त हुन्थ्यो । देशको अवस्था यस्तो छ...’

बुवाको त्यो एउटा संशययुक्त वाक्यले मलाई आज यो सोचमग्न अवस्थामा पुर्‍याएको छ । जसले हामीलाई स्वदेशमै रोकिन प्रेरित गर्नुभयो, आज देशको यो अस्थिरता, निराशा र गतिहीनता देख्दा उहाँकै आत्मविश्वास डगमगाएछ !

के १३ वर्षअगाडि मैले इन्भेस्टमेन्ट बैंकिङको त्यो लोभलाग्दो ग्लोबल करियर छोडेर नेपाल फर्कने जुन निर्णय गरेँ, त्यो गलत थियो ? के म आज त्यो निर्णयमा गर्वका साथ उस्तै ‘स्टिक’ हुन सक्छु ?

काउन्सिलको पत्रले मलाई ‘नेपालमा सम्भव छ’ भनेर लेख्न त भन्यो । तर, आज म आफैँभित्र एउटा गम्भीर विमर्श गरिरहेको छु—के साँच्चै नेपालमा सम्भावना छ ?

कि हामी नयाँ वातावरणमा जान, शून्यबाट संघर्ष गर्न र बाहिरी संसारसँग जुध्न डराएर, आफ्नो ‘कम्फर्ट जोन’ छोड्न नसकेर आफैँले ‘नेपालमै सम्भावना छ’ भन्ने एउटा जबर्जस्तीको भाष्य वा मानक स्थापना गरेर चित्त बुझाइरहेका छौँ ?

कतै हाम्रो यो ‘पोजिटिभिटी’ बाध्यताले जन्माएको आत्मरति मात्र त होइन ?

जब राज्यको प्रणालीले युवाको ऊर्जालाई चिन्न सक्दैन, जब सम्भावनाहरू केवल गफ र कागजमा मात्र सीमित हुन्छन्, तब एउटा युवाले आफ्नो जीवनको ऊर्जावान् १३ वर्ष एउटै आशामा लगानी गरिसकेपछि सोच्न बाध्य हुन्छ ।

‘युवा विमर्श’का लागि लेख्दै गर्दा म सस्तो र सतही गफ लेख्न सक्दिनँ । यो देशलाई केवल एउटा भावुक भूगोल बनाएर ‘यहाँ सबै ठीक छ’ भन्नु आजको युवा पुस्तामाथि अन्याय हुनेछ ।

सम्भावना त अवश्य छ । तर त्यो सम्भावनालाई नीति, प्रणाली र अवसरमा नढालिएसम्म त्यो केवल एउटा सुन्दर भ्रम मात्र बनिरहनेछ ।

१३ वर्षअगाडिको मेरो निर्णय सही थियो कि गल्ती, त्यसको फैसला इतिहासले गर्ला । तर आजको यथार्थ के हो भने अब नेपालमा सम्भावना छ भनेर केवल ओठे ओखती बाँड्ने होइन, त्यो सम्भावनालाई हरेक युवाको खल्ती र जीवनमा अनुभूत गराउने गरी काम गर्नैपर्ने बेला आइसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update