स्याङ्जाको चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार साँझ करिब ६ बजे चापाकोट नगरपालिका–४ पुम्दीस्थित मल्याङकोटबाट घर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिएर करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका–५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले साँझ ७:०५ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै सोही ठाउँका १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि ट्रिपर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी घटनास्थलबाट फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
दुर्घटनामा परेको ट्रिपर मल्याङकोट–घर्लीचौर सडक निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताइएको छ । उक्त सडक योजना निर्माणको जिम्मेवारी पष्म एनएम आरसी जेबी कम्पनीले लिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।





