स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाको सुविधा उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बिमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत जिप, टेम्पो, ट्याक्टर, बस तथा टिपरमा कार्यरत चालक र सहचालक लाभान्वित हुनेछन् ।
यस सम्बन्धमा सूचना प्रकाशित गर्दै गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दर्ता गर्न आग्रह गरेको छ । तोकिएको म्याद नाघेर प्राप्त हुने निवेदनमाथि कुनै कामकारबाही नहुने जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले दैनिक रूपमा जोखिमपूर्ण परिस्थितिमा काम गर्ने चालक तथा सहचालकको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए । उनले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न बिमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“गाउँपालिकाभित्र नियमित रूपमा सवारी सञ्चालन गर्ने चालक तथा सहचालकहरू दुर्घटनाको जोखिममा रहने भएकाले उनीहरूको सुरक्षाका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं,” अर्यालले भने, “सम्बन्धित सबैले समयमै आवेदन दिएर कार्यक्रमको लाभ लिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।”
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले यातायात क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका श्रमिकको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बिमा कार्यक्रम सञ्चालन गरिएको बताए ।
“चालक र सहचालकले गाउँको यातायात सेवा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्,” अध्यक्ष तिवारीले भने, “उनीहरूलाई जोखिमको अवस्थामा आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन गाउँपालिकाले यो कार्यक्रम अघि बढाएको हो । आगामी दिनमा पनि नागरिकमैत्री र श्रमिकमुखी कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”
गाउँपालिकाका अनुसार आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित श्रेणीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधनको नवीकरण खुलेको ब्लुबुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारी धनी वा व्यवसायी समितिको सिफारिस पत्र पेश गर्नुपर्नेछ ।
गाउँपालिकाले समयसीमाभित्र आवेदन दिएर कार्यक्रमको लाभ लिन सम्बन्धित सबै चालक तथा सहचालकलाई अनुरोध गरेको छ ।





