Syangja Dainik Media
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने मूल नारासहित सडक बालबालिका तथा बालश्रममुक्त पालिका घोषणा गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा बालश्रममुक्त घोषणा गरिएको हो । यससँगै अर्जुनचौपारी स्याङ्जामा सडक बालबालिका तथा बालश्रममुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको छ ।

यसअघि बिरुवा गाउँपालिका जिल्लाकै पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बालश्रममुक्त स्थानीय तहका रूपमा घोषणा भइसकेका छन् । अर्जुनचौपारी थपिएसँगै स्याङ्जाका ११ स्थानीय तहमध्ये तीन स्थानीय तहले बालश्रममुक्त घोषणा गरेका छन् भने अझै आठ स्थानीय तहले घोषणा गर्न बाँकी रहेको अवस्था छ ।

बालश्रम अन्त्य, बालअधिकार संरक्षण तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित गाउँपालिकाले विभिन्न चरणमा तथ्याङ्क सङ्कलन, अनुगमन, सचेतना तथा सरोकारवालासँग समन्वय गर्दै आएको जनाएको छ । आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बालश्रममुक्त घोषणा एउटा उपलब्धि भए पनि यसलाई निरन्तरता दिन अझ बढी जिम्मेवारी थपिएको बताए ।

“बालबालिकाको स्थान विद्यालयमै हो भन्ने मान्यतालाई व्यवहारमा उतार्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आजको घोषणा अन्तिम गन्तव्य होइन, सुरुवात हो । अब अर्जुनचौपारीका कुनै पनि बालबालिका श्रममा होइन, शिक्षामा जोडिनुपर्छ भन्ने हाम्रो प्रतिबद्धता छ । यस अभियानमा अभिभावक, विद्यालय, समुदाय र सरोकारवाला सबैको साथ आवश्यक छ ।”

उनले बालश्रममुक्त घोषणाको दिगोपनाका लागि नियमित अनुगमन, सचेतना र बालअधिकार संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

स्याङ्जामा कुल ११ स्थानीय तह रहेका छन्, जसमा पाँच नगरपालिका र छ गाउँपालिका छन् । हालसम्म बिरुवा, फेदीखोला र अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त घोषणा भएका छन् । पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ, चापाकोट गरी पाँचैवटा नगरपालिका साथै आँधीखोला, कालीगण्डकी र हरिनास तीन गाउँपालिका गरी आठ स्थानीय तहले भने अझै बालश्रममुक्त घोषणा गर्न बाँकी छ ।

जिल्लामा बालश्रम अन्त्यका लागि स्थानीय तहहरूले अभियान सञ्चालन गरिरहेका बेला अर्जुनचौपारीको घोषणाले बाँकी पालिकालाई पनि आवश्यक मापदण्ड पूरा गरी बालश्रममुक्त घोषणा गर्ने दिशामा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update