स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय मौलिकता, आत्मनिर्भरता, सुशासन र उत्पादनमुखी विकासलाई केन्द्रमा राखिएको छ ।
पालिकाले विगत चार वर्षमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढाउने जनाएको छ ।
शिक्षामा प्रविधि र संस्कारको संयोजन
गाउँपालिकाले विद्यालय तहमा सञ्चालन हुँदै आएको एआई (AI) आधारित सिकाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रत्येक विद्यालयमा ‘ट्यालेन्ट मेन्टर’ र ‘स्पोर्ट्स कोअर्डिनेटर’ शिक्षकको व्यवस्था गरिने नीति लिइएको छ ।
साथै, ‘चेन्ज मेकर्स क्लब’ मार्फत नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिनेछन् । कक्षा १ देखि ८ सम्म संस्कार शिक्षालाई अनिवार्य बनाउँदै वैदिक सदाचार, योग, बुद्धका पञ्चशील तथा पञ्चमहायज्ञमा आधारित पाठ्यक्रम लागू गरिने भएको छ ।
शिक्षक क्षमता विकास, पठन सीप सुधार र विद्यालय शिक्षा सुधार अभियानलाई समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
घरघरमा स्वास्थ्य सेवा विस्तार
स्वास्थ्य क्षेत्रमा ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रमलाई थप विस्तार गरिने भएको छ । यसअन्तर्गत मनोसामाजिक परामर्श सेवा समेत समावेश गरिनेछ ।
स्वास्थ्य संस्थाको स्तरोन्नति, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको सुदृढीकरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तारलाई प्राथमिकता दिइएको छ । आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाहलाई निरन्तरता दिइने नीति पनि समेटिएको छ ।
पालिकाले उपचारमुखीभन्दा स्वास्थ्य प्रवर्द्धनमुखी जीवनशैलीलाई जोड दिँदै योग, ध्यान, मानसिक स्वास्थ्य, सात्विक भोजन र स्थानीय जडीबुटी संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
कृषि उत्पादन र आत्मनिर्भरतामा जोड
‘कृषि र पशुपालन समृद्धिको आधार’ भन्ने अवधारणासहित गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने नीति अघि सारेको छ ।
बीउबिजन, सिँचाइ र प्राविधिक सेवाको विस्तार गर्दै प्राङ्गारिक खेती, रैथाने बीउ संरक्षण तथा परम्परागत बालीको प्रवर्द्धन गरिनेछ । नवग्रह कृषि फर्मलाई गुणस्तरीय बीउ उत्पादन केन्द्रका रूपमा विकास गरिने तथा कृषकका लागि तकावी कर्जा अभ्यास सुरु गरिने भएको छ ।
उत्पादनशील क्षेत्रमा संलग्न परिवारलाई ५० युनिटसम्म विद्युत् महसुल छुट, स्वास्थ्य बीमा, बीउ पूँजी कार्यक्रम र अन्य सहुलियत उपलब्ध गराउने नीति पनि सार्वजनिक गरिएको छ ।
श्रम र स्थानीय उत्पादनलाई प्रोत्साहन
पालिकाले श्रम संस्कृतिको पुनर्जागरणलाई विशेष अभियानका रूपमा अघि बढाउने भएको छ । बाँझो जमिनको उपयोग, कृषि तथा पशुपालनमा संलग्न परिवारलाई प्रोत्साहन र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति ल्याइएको छ ।
परम्परागत कालिगढहरूको सीप संरक्षणका लागि ‘विश्वकर्मा श्रम बैंक’ स्थापना गरिने भएको छ । आरन, जुत्ता सिलाउने, कपडा बुन्ने तथा काठ–ढुङ्गामा कलात्मक काम गर्ने व्यक्तिहरूलाई सूचीकृत गरी सम्मान र उपकरण सहयोग प्रदान गरिनेछ ।
पर्यटनमार्फत आर्थिक गतिविधि विस्तार
नेपालकै पहिलो नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप व्यवस्थित बनाइने भएको छ । गाउँपालिकाका अनुसार हाल मासिक करिब ३० हजार पर्यटक अर्जुनचौपारी भित्रिने गरेका छन् ।
नवग्रह धार्मिक होमस्टे कार्यक्रम सञ्चालन, धार्मिक पदमार्ग निर्माण, आरोग्य पर्यटन विस्तार तथा प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन पूर्वाधार विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।
वडा नम्बर ५ स्थित १९०७ एरिना क्रिकेट मैदानलाई ‘हाई अल्टिच्युड स्पोर्ट्स टुरिजम हब’ का रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
पूर्वाधारमा गुणस्तर र दिगोपन
विगत चार वर्षमा करिब ४३ किलोमिटर सडक कालोपत्रे गरेको गाउँपालिकाले आगामी वर्षदेखि निर्माण सम्पन्न सार्वजनिक संरचनाको वार्षिक ‘पूर्वाधार अडिट’ गर्ने भएको छ ।
पूर्वाधारको गुणस्तर, सुरक्षा र उपयोगिता मूल्याङ्कन गरी आवश्यक मर्मत तथा व्यवस्थापनलाई प्राथमिकता दिने नीति लिइएको छ ।
सुरक्षित खानेपानी र वातावरण संरक्षण
खानेपानीको गुणस्तर परीक्षण, मुहान संरक्षण, भरणपोखरी निर्माण, वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गरिने भएको छ । शतप्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच पुर्याउने लक्ष्य पनि राखिएको छ ।
वन तथा जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन क्षमताको विकासलाई समेत प्राथमिकतामा राखिएको छ ।
सुशासन र सेवा प्रवाहमा सुधार
गाउँपालिकाले प्रशासनिक तथा प्राविधिक संरचनालाई थप सूचना प्रविधिमैत्री बनाउँदै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनमा जोड दिने जनाएको छ ।
गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइ नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ गरिने नीति कार्यक्रममा उल्लेख छ ।
आत्मनिर्भर अर्जुनचौपारी निर्माणको लक्ष्य
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष तिवारीले आयातित विकास मोडलको अन्धानुकरण नगरी स्थानीय भूगोल, संस्कृति, जनशक्ति र मौलिकतालाई आधार बनाएर विकास अघि बढाइने बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिलाई विकासको प्रमुख आधार बनाउँदै आत्मनिर्भर, उत्पादनमुखी र संस्कारयुक्त अर्जुनचौपारी निर्माण गर्ने लक्ष्यसहित आगामी वर्षका कार्यक्रम तय गरिएको बताए ।





