Syangja Dainik Media
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा आर्थिक वर्ष २०८२/०८३ मा ९०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार सेवा लिनेमा २० वर्षमुनिका ३० जना र २० वर्षभन्दा माथिका ८७५ जना छन् ।

किशोरावस्थामै गर्भधारण गरेर गर्भपतन सेवा लिनुपर्ने अवस्था तुलनात्मक रूपमा कम देखिए पनि २० वर्ष नपुगेका ३० जनाको तथ्यांकले बालविवाह, किशोर–किशोरीको प्रजनन स्वास्थ्य, परिवार नियोजनको पहुँच र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारीको अवस्थाबारे प्रश्न उठाएको छ ।

नेपालमा विवाहका लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । २० वर्ष पूरा नभई विवाह गर्नु कानुनविपरीत हुने व्यवस्था छ । तर कानुनी रूपमा विवाहको उमेर तोकिए पनि किशोरावस्थामा गर्भधारण हुने अवस्था भने पूर्ण रूपमा रोकिएको छैन ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्यांक अधिकृत विनोद प्रसाद भट्टका अनुसार उपलब्ध तथ्यांक सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाबाट संकलन गरिएको हो । उनका अनुसार यो तथ्यांकलाई बालविवाहको प्रत्यक्ष तथ्यांकका रूपमा भने बुझ्न मिल्दैन ।

“गर्भपतन सेवाको तथ्यांकले सेवा लिनेको संख्या देखाउँछ । यसको पछाडि गर्भधारणको कारण, विवाहको अवस्था, परिवार नियोजनको पहुँच र किशोर–किशोरीको प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानजस्ता पक्षलाई पनि सँगसँगै हेर्नुपर्छ,” भट्टले भने ।

वालिङमा सबैभन्दा धेरै, २० वर्षमुनिका पनि बढी

पालिकागत रूपमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४०८ रहेको छ । त्यसमध्ये २० वर्षमुनिका १५ जना र २० वर्षभन्दा माथिका ३९३ जना छन् ।

पुतलीबजार नगरपालिकामा १३० जनाले सेवा लिएका छन् । त्यसमध्ये २० वर्षमुनिका तीन जना र २० वर्षभन्दा माथिका १२७ जना छन् ।

चापाकोट नगरपालिकामा ८० जनाले सेवा लिएकोमा तीन जना २० वर्षमुनिका र ७७ जना २० वर्षभन्दा माथिका छन् । भीरकोट नगरपालिकामा ६१ जनाले सेवा लिएका छन्, जसमा दुई जना २० वर्षमुनिका र ५९ जना २० वर्षभन्दा माथिका छन् ।

त्यस्तै गल्याङ नगरपालिकामा ५४ जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका र ५३ जना २० वर्षभन्दा माथिका छन् । हरिनास गाउँपालिकामा ५१ जनाले सेवा लिएका छन् । त्यसमध्ये तीन जना २० वर्षमुनिका र ४८ जना २० वर्षभन्दा माथिका छन् ।

अर्जुनचौपारी गाउँपालिकामा ४३ जनाले सेवा लिएकोमा तीन जना २० वर्षमुनिका र ४० जना २० वर्षभन्दा माथिका छन् । आँधीखोला गाउँपालिकामा ३९ जनाले सेवा लिएका छन् र सबै २० वर्षभन्दा माथिका छन् ।

कालीगण्डकी गाउँपालिकामा सेवा लिएका ३२ जनानै २० वर्षभन्दा माथिका छन् । बिरुवा गाउँपालिकामा सात जनाले सेवा लिएका छन् र सबै २० वर्षभन्दा माथिका छन् । फेदीखोला गाउँपालिकाको हकमा भने गर्भपतन सेवा लिएको तथ्यांक छैन ।

जिल्लाभर २० वर्षमुनिका ३० र २० वर्षभन्दा माथिका ८७५ गरी कुल ९०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।

२० वर्षमुनिका ३० मध्ये २८ जनाले औषधिबाट सेवा लिए

उमेरसँगै गर्भपतनको विधिसमेत हेर्दा २० वर्षमुनिका ३० सेवाग्राहीमध्ये २८ जनाले औषधिबाट र दुई जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

२० वर्षभन्दा माथिका ८७५ सेवाग्राहीमध्ये ७८७ जनाले औषधिबाट र ८८ जनाले शल्यक्रियामार्फत सेवा लिएका छन् ।

यसरी दुवै उमेर समूह जोड्दा ८१५ जनाले औषधिबाट र ९० जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन सेवा लिएको देखिन्छ ।

यो सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन अनुमति पाएका सरकारी तथा स्वास्थ्य संस्थाको मात्र तथ्यांक हो । त्यसबाहेक अन्य अस्पताल वा जिल्ला बाहिर गएर सेवा लिनेको संख्या अझै धेरै हुन सक्ने कार्यालयले जनाएको छ ।

कलिलै उमेरमा गर्भधारण आमा बच्चा दुवैका लागि जोखिम

स्वास्थ्यकर्मीका अनुसार २० वर्ष नपुग्दै गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा जोखिम बढ्न सक्छ । किशोरीको शरीर पूर्ण रूपमा विकसित भइनसकेको अवस्थामा गर्भधारण हुँदा गर्भावस्था र सुत्केरीका क्रममा विभिन्न जटिलता आउन सक्ने सम्भावना हुन्छ ।

कलिलो उमेरमा बच्चा जन्माउँदा सुत्केरी हुन समस्या हुने, सुत्केरीपछि पाठेघर खस्ने, पिसाब चुहिरहनेलगायतका समस्या देखिन सक्छन् । कम उमेरका आमाबाट जन्मिएका बच्चामा कम तौल हुने, समयअघि जन्मिने, श्वास फेर्न कठिन हुने, शरीरको तापक्रम सन्तुलनमा समस्या हुने तथा रगतमा संक्रमण देखिनेजस्ता जोखिम पनि रहन्छन् ।

किशोरीको शारीरिक विकास पूर्ण नभएको अवस्थामा प्राकृतिक रूपमा सुत्केरी हुन कठिन भएर शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा उमेर कम भएका कारण उनीहरू मानसिक र शारीरिक रूपमा पनि शल्यक्रिया तथा प्रसूतिको अवस्थाका लागि पर्याप्त तयार नहुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

गर्भपतन गर्नुपर्ने अवस्थामा पनि सुरक्षित स्वास्थ्य संस्थासम्म पहुँच नपुगे जोखिम झन् बढ्न सक्छ । असुरक्षित रूपमा गर्भपतन गराउने प्रयासले संक्रमण, अत्यधिक रक्तस्राव तथा अन्य स्वास्थ्य जटिलता निम्त्याउन सक्छ ।

तथ्यांकले उठाएको अर्को प्रश्न

स्याङ्जामा २० वर्षमुनिका ३० जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांकलाई सीधै बालविवाहको परिणाम भन्न मिल्दैन । तर यसले किशोरीहरूमा गर्भधारण हुने अवस्था किन अझै कायम छ ? भन्ने प्रश्न भने उठाएको छ ।

गर्भधारणको कारण विवाह मात्र हो वा परिवार नियोजनका साधनको पहुँच र प्रयोगमा समस्या छ ? किशोर–किशोरीले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही सूचना पाएका छन् कि छैनन् ? अनिच्छित गर्भधारण भएपछि सुरक्षित स्वास्थ्य सेवासम्म उनीहरूको पहुँच कस्तो छ ?—यी विषयमा थप अध्ययन आवश्यक देखिन्छ ।

तथ्यांक अधिकृत भट्टका अनुसार उपलब्ध तथ्यांकलाई केवल संख्या मानेर निष्कर्ष निकाल्नुभन्दा यसको कारण र पृष्ठभूमि अध्ययन गर्न आवश्यक छ ।

“कुन उमेरमा गर्भधारण भयो, गर्भपतन सेवा लिनुपर्ने अवस्था किन आयो र स्वास्थ्य सेवामा पहुँच कस्तो थियो भन्ने विषयलाई पनि सँगसँगै विश्लेषण गर्नुपर्छ,” उनले भने ।

स्वास्थ्यकर्मीहरूका अनुसार किशोरावस्थामा अनिच्छित गर्भधारण घटाउन विद्यालय तहबाटै यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । किशोर–किशोरीलाई परिवार नियोजनका साधन, तिनको सही प्रयोग र उपलब्ध स्वास्थ्य सेवाबारे सहज तथा गोप्य रूपमा जानकारी दिने व्यवस्था पनि आवश्यक छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा सामाजिक लाज, गलत धारणा, अन्धविश्वास तथा परिवार नियोजनका साधन प्रयोगसम्बन्धी भ्रमका कारण किशोरी तथा महिलाले समयमै सेवा लिन नसक्ने अवस्था हुन सक्छ । त्यसैले स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र परिवारबीच समन्वय गरेर जनचेतना विस्तार गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

२० वर्षमुनिको संख्या कम भए पनि विषय गम्भीर

जिल्लाको कुल ९०५ गर्भपतन सेवामध्ये २० वर्षमुनिका ३० जनाको हिस्सा तुलनात्मक रूपमा सानो देखिन्छ । तर किशोरावस्थामै गर्भधारण भएपछि गर्भपतन गर्नुपर्ने अवस्थालाई केवल प्रतिशतमा सीमित गरेर हेर्न नहुने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

बालविवाह रोक्ने कानुनी व्यवस्था र अभियानसँगै किशोर–किशोरीलाई आफ्नो शरीर, प्रजनन स्वास्थ्य, परिवार नियोजन र सुरक्षित स्वास्थ्य सेवाका विषयमा सही जानकारी दिन सकिएमा अनिच्छित गर्भधारणको जोखिम घटाउन सकिन्छ ।

त्यसैले स्याङ्जामा सुरक्षित गर्भपतन सेवा लिने ९०५ जनाको तथ्यांकले एकातिर स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध भइरहेको देखाए पनि अर्कोतिर किशोरावस्थाको गर्भधारण रोकथाम, परिवार नियोजनको पहुँच र प्रजनन स्वास्थ्य शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update