स्याङ्जाको फेदीखोला गाउँपालिका–१ की २३ वर्षीया रेजिना खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले ३५ वर्षमुनिको युवा महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
विद्यार्थी जीवनदेखि नै राजनीति, समाजसेवा र विद्यार्थी आन्दोलनमा सक्रिय खड्काले सार्वजनिक सरोकारका विषयमा आवाज उठाउँदै आएकी छन् । हालै इन्जिनियरिङ अध्ययन पूरा गरेकी उनी आफ्नै सानो उद्यमसमेत सञ्चालन गर्दै आएकी छन् ।
अध्ययनकै क्रममा विद्यार्थी राजनीतिमा सक्रिय रहेकी खड्काले अन्याय, पार्टीभित्रको गुटबन्दी र परिवारवादविरुद्ध आवाज उठाउँदै आएको बताएकी छन् । उनले नेपाल विद्यार्थी संघमा एक कार्यकाल सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारीसमेत निर्वाह गरेकी थिइन् ।
कांग्रेस नेता गगन थापालाई अग्रपंक्तिमा रहेर समर्थन गर्दै पार्टीमा पुस्तान्तरणको आवाज स्याङ्जाबाटै उठाउने युवामध्ये आफू पनि एक रहेको खड्काको भनाइ छ । राजनीतिप्रति युवामा घट्दै गएको विश्वास पुनःस्थापित गर्ने र आफ्नो पुस्तालाई सक्रिय राजनीतिमा जोड्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताइन् ।
उम्मेदवारी घोषणा गर्दै खड्काले नेपाली कांग्रेस आफ्ना लागि राजनीतिक दल मात्र नभई राजनीति र समाज बुझ्ने पहिलो घर तथा पहिलो पाठशाला भएको बताइन् । सानै उमेरदेखि पार्टीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिँदै प्राप्त गरेको अनुभवले लोकतन्त्र, समाजवाद, राष्ट्रप्रेम र सार्वजनिक जिम्मेवारीप्रतिको आफ्नो विश्वास अझ बलियो बनाएको उनको भनाइ छ ।
‘यस यात्रामा म कहिले लडेँ, कहिले चुकेँ र गल्ती पनि गरेँ । तर हरेक अनुभवबाट नयाँ कुरा सिकेँ र समाजलाई अझ नजिकबाट चिन्ने अवसर पाएँ,’ उनले भनिन् ।
खड्काले वडाका आवाजलाई केन्द्रसम्म पुर्याउने, युवाको जोश, सोच र क्षमतालाई नेतृत्वमा रूपान्तरण गर्ने तथा नयाँ पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको स्पष्ट पारेकी छन् । महिला नेतृत्वलाई वडादेखि केन्द्रसम्म सशक्त रूपमा स्थापित गर्नुपर्नेमा समेत उनले जोड दिएकी छन् ।
‘मेरो पुस्ता राजनीतिमा आउनुपर्छ र नेतृत्व लिनुपर्छ। राजनीतिप्रति युवामा गुमेको विश्वास पुनःस्थापित गर्दै आफ्नो पुस्तालाई सक्रिय राजनीतिमा जोड्नु आजको आवश्यकता हो,’ खड्काले भनिन् ।
अग्रजहरूको अनुभवलाई सम्मान गर्दै पुस्तान्तरण र रूपान्तरणलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ । उनले कांग्रेसलाई जनताको घरआँगनसम्म पुर्याउन र राज्यका हरेक तह तथा निकायमा महिलाको आवाज बलियो बनाउनुपर्ने बताइन् ।
‘अब कांग्रेसलाई जनताको आँगनमा पुर्याउनुपर्छ । महिलाको आवाज देशका हरेक तह र निकायमा गुञ्जिनुपर्छ,’ उनले भनिन् ।
खड्काले आफ्नो उम्मेदवारी वडाको आवाज केन्द्रसम्म पुर्याउन, युवाको क्षमतालाई नेतृत्वमा बदल्न, आफ्नो पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व गर्न र पार्टीमा महिला नेतृत्वको सशक्त उपस्थिति सुनिश्चित गर्न केन्द्रित रहेको बताएकी छन् ।






