स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भीरकोट नगर अस्पताल पठाइएकोमा उत्तमसिंह गुरुङलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
बिहीबार साँझ भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जीपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार नगरपालिका–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङको रहेका छन् ।
त्यस्तै, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भीरकोट नगरपालिका–२ दहथुम बस्ने ४३ वर्षीया रस माया गुरुङ र भीरकोट नगरपालिका–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन् ।
जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।






