Syangja Dainik Media
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा शिक्षकलाई विद्यालय समयमै सञ्चालन गरिएका अतिरिक्त गतिविधिको पारिश्रमिक भुक्तानी गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम फिर्ता गराउन निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले २५ असार २०८३ मा पठाएको पत्रका आधारमा विद्यालयको सम्बन्धमा गरिएको अध्ययन तथा छानबिनपछि नगर शिक्षा समितिको २ असोजको बैठकले रकम असुलउपर गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । सोही निर्णय कार्यान्वयनका लागि ८ असोजमा विद्यालयलाई पत्र पठाइएको छ ।

विद्यालयले सम्बन्धित शिक्षकहरूबाट भुक्तानी भएको रकममा १० प्रतिशतले हुने थप रकमसमेत जोडेर विद्यालयको बैंक खातामा जम्मा गराउनुपर्ने निर्णय भएको छ ।

रकम जम्मा गरेको सक्कल बैंक भौचर १५ दिनभित्र पुतलीबजार नगरपालिकामा पेश गर्नसमेत भनिएको छ । तर यो समाचार तयार पार्दासम्म कुनैपनि शिक्षकहरुले रकम जम्मा नगरेको प्रशासकीय अधिकृत सुवेदीले स्पष्ट पारे ।

छानबिनपछि सार्वजनिक गरिएको विवरणअनुसार १४ जना शिक्षकबाट रकम असुल गर्नुपर्ने देखिएको छ । विवरणमा दीपक कार्कीबाट १ लाख ३८ हजार रुपैयाँ, भिमबहादुर गोदारबाट २ लाख १० हजार, महेशराज शर्माबाट २ लाख १० हजार, विश्वेश्वरप्रसाद पोख्रेलबाट २ लाख १० हजार र भोजराज शर्माबाट १ लाख ३८ हजार रुपैयाँ फिर्ता गराउनुपर्ने उल्लेख छ ।

त्यस्तै जीवन अधिकारी र कमलचन्द्र लामिछानेबाट जनही ७२ हजार रुपैयाँ, अमृतकुमार रेग्मीबाट ४ लाख ५५ हजार, अर्जुन पौडेलबाट २ लाख १० हजार, विष्णुप्रसाद पोख्रेलबाट १ लाख ६१ हजार, नवराज सुवेदीबाट ४ लाख ९० हजार, शान्ति रेग्मी र सफि उल्लाह खानबाट जनही २ लाख ४५ हजार तथा शिवप्रसाद ढकालबाट ८४ हजार रुपैयाँ असुल गर्नुपर्ने विवरणमा छ ।

यी रकममा १० प्रतिशतले हुने जरिवाना/थप रकमसमेत जोडेर असुल गर्नुपर्ने उल्लेख छ । विवरणअनुसार कुल भुक्तानी रकम २९ लाख ४० हजार रुपैयाँ र थप रकम २ लाख ८७ हजार ६४० रुपैयाँ रहेको छ । यसअनुसार जम्मा ३२ लाख २७ हजार ६४० रुपैयाँ विद्यालयको खातामा जम्मा गराउनुपर्ने देखिन्छ ।

छानबिनमा विद्यालयले शिक्षकलाई दोहोरो पारिश्रमिक भुक्तानी गरेको विषय उठाइएको छ । नेपाल सरकारले निर्धारण गरेको विद्यालय समयभित्र सञ्चालन भएका बिहानी सत्रको कक्षा वापत शिक्षकलाई दिइएको पारिश्रमिकसम्बन्धी विषयमा अख्तियारले छानबिन गरेको हो ।

यससँगै विद्यालयले मासिक तथा वार्षिक शुल्कका नाममा रकम उठाउने विषय पनि छानबिनको दायरामा परेको छ । विद्यालयले विभिन्न शीर्षकमा शुल्क उठाएको पाइएकाले प्रचलित कानुनबाहेक अन्य शीर्षकमा शुल्क निर्धारण नगर्नसमेत भनिएको छ ।

विद्यालय शिक्षा नियमावलीले विद्यालयले लिन पाउने शुल्कका शीर्षक र सीमा तोकेको छ । सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था लागू हुने तहमा शुल्क उठाउन नपाइने कानुनी व्यवस्था छ । शिक्षा मन्त्रालयले पनि सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिँदै आएको छ ।

पुतलीबजार–१ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा यसअघि पनि विभिन्न शीर्षकमा शुल्क लिइएको विषय सार्वजनिक भएको थियो । विद्यालयले परीक्षा बोर्डले तोकेको भन्दा बढी रकम लिएको, प्रमाणपत्रका लागि शुल्क लिएको तथा केही कक्षामा मासिक शुल्क उठाएको विवरणसमेत सार्वजनिक भएको थियो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले सार्वजनिक निकाय र शैक्षिक संस्थामा आर्थिक कारोबार पारदर्शी र कानुनसम्मत हुनुपर्ने बताएका छन् । उनका अनुसार विद्यार्थी र अभिभावकसँग सम्बन्धित रकमको विषयमा समेत जिम्मेवार निकायले जवाफदेही भएर काम गर्नुपर्छ ।

“विद्यालयजस्तो सार्वजनिक महत्वको संस्थामा आर्थिक अनुशासन र पारदर्शितामा कुनै पनि किसिमको कमजोरी स्वीकार्य हुँदैन,” घिमिरेले भने ।

अख्तियारको पत्र र शिक्षा समितिको निर्णयपछि विद्यालयले रकम असुल गरी बैंकमा दाखिला गर्ने प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । साथै शुल्क उठाउने विषयमा समेत प्रचलित कानुन र स्वीकृत मापदण्ड पालना गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update