स्याङ्जाको पुतलीबजार र भीरकोट नगरपालिकाको सिमानास्थित हेलुमा बस र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार बुधबार बिहान पुतलीबजार नगरपालिका–११ हेलुस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो ।
पोखराबाट वालिङतर्फ जाँदै गरेको लु १ ख ८४५४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प १८४२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका–११ का ४५ वर्षीय गोपालप्रसाद अर्याल घाइते भएका हुन् ।
उनलाई सुरुमा भीरकोट नगर अस्पतालमा उपचारका लागि पठाइए पनि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।
दुवै सवारीसाधन र बस चालकलाई प्रहरी चौकी दहथुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






