Syangja Dainik Media
स्याङ्जा आएर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

उनले कांग्रेसभित्रको कमजोरी हटाएर फेरि जनताको भरोसा र लोकप्रियता हासिल गर्न आफूले नेतृत्व पनि छाड्न तयार रहेको बताएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा बिहीबार स्याङ्जामा आयोजित शोकसभामा बोल्दै सभापति थापाले आगामी अधिवेशनबाट पार्टी नयाँ ढंगले जाने बताए ।

कांग्रेस बलियो बनाउन सबै एक ठाउँमा आउनुपर्ने बताउँदै उनले पार्टीको महत्व र अहिलेको अवस्थालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखे ।

शासकीय अहंकारका कारण पटक–पटक व्यवस्था हल्लिने गरेको उल्लेख गर्दै उनले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनलाई पनि त्यसैको एउटा प्रारूपका रूपमा व्याख्या गरे ।

मतदाता कुनै पनि पार्टीको स्थायी नहुने बताउँदै सभापति थापाले समर्थक र शुभेच्छुकको संख्या घट्न नदिन कार्यशैली बदल्नुपर्ने बताए । चुनाव जित्ने र हार्ने विषयलाई मात्र केन्द्रमा राख्दा कांग्रेससँग समर्थक तथा शुभेच्छुक टाढिएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update