Syangja Dainik Media
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका सबै ९७ वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा समितिको नेतृत्व चयन गरिएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार जिल्लाका ११ स्थानीय तहअन्तर्गत रहेका ९७ वडामध्ये ९६ वडामा वडा समिति निर्विरोध चयन भएको छ । वालिङ नगरपालिका–१३ मा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

वालिङ–१३ को वडा सभापतिमा ईश्वरी गैह्रे निर्वाचित भएका छन् । उनले १०० मत प्राप्त गर्दा प्रतिस्पर्धी राजकुमार गैह्रेले ४० मत प्राप्त गरेका थिए ।

उपसभापति काफ्लेका अनुसार जिल्लाका सबै वडामा क्षेत्रीय प्रतिनिधिसमेत सहमतिका आधारमा चयन भएका छन् ।

यसैबीच, स्याङ्जाका ९७ वडामध्ये पुतलीबजार नगरपालिका–४ मा मात्र महिला वडा सभापति चयन भएकी छन् । उक्त वडामा लीलावती पौडेल निर्विरोध वडा सभापति निर्वाचित भएकी हुन् ।

वडा अधिवेशन सम्पन्न भएसँगै कांग्रेसले जिल्लामा वडा तहको नेतृत्व चयन प्रक्रिया पूरा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update