त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको जिम्मेवारी सम्हालिसकेका स्याङ्जाको भीरकोट नगरपालिका–६ का गोविन्द कोइराला नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् ।
अर्थशास्त्रमा स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत कोइराला विद्यार्थी अधिकार, सार्वजनिक शिक्षा, उच्च शिक्षा सुधार र लोकतान्त्रिक अभ्यासका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।
२७ वर्षको उमेरमै विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले विद्यार्थीका मुद्दालाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।
कोइरालाले स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पूरा गरेका थिए । उच्च शिक्षाका लागि त्रिचन्द्र बहुमुखी क्याम्पस पुगेपछि उनी विभिन्न विद्यार्थी अभियानमा जोडिए ।
‘किताबमाथिको कर हटाउ’, विद्यालय तथा उच्च शिक्षा ऐन परिमार्जन, ‘सेभ त्रिचन्द्र’, ‘सेभ पब्लिक लाइब्रेरीज’ र संविधान संरक्षणसँग सम्बन्धित अभियानमा उनले सक्रिय सहभागिता जनाएका थिए ।
भूकम्पबाट प्रभावित त्रिचन्द्र क्याम्पसका संरचनाको सुरक्षा, पुनर्निर्माण र विद्यार्थीका लागि सुरक्षित शैक्षिक वातावरणको माग गर्दै सञ्चालन गरिएको ‘सेभ त्रिचन्द्र’ अभियानमा पनि कोइरालाको भूमिका रहेको बताइएको छ ।
विद्यार्थी आन्दोलनकै क्रममा उनी सन् २०२३ मा काठमाडौंस्थित संघीय संसद् भवननजिक भएको प्रदर्शनमा पक्राउसमेत परेका थिए । शिक्षा सुधार, प्रशासनिक पारदर्शिता र क्याम्पसका पूर्वाधारलगायत विद्यार्थीका सरोकारका विषय उठाउँदै गरिएको उक्त प्रदर्शनमा सहभागी भएपछि उनको विद्यार्थी आन्दोलनसँगको सक्रियता थप चर्चामा आएको थियो ।
कोइरालाले नेपालको उच्च शिक्षा प्रणाली र विद्यार्थी संगठनको भूमिकाबारे पनि विभिन्न माध्यमबाट आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । विद्यार्थी संगठनबीच सहकार्य, लोकतान्त्रिक जवाफदेहिता र दीर्घकालीन शैक्षिक सुधारमा जोड दिँदै उनले विद्यार्थी राजनीतिलाई क्याम्पसका गतिविधिमा मात्र सीमित नगरी नीतिगत बहससँग जोड्नुपर्ने धारणा राख्दै आएका छन् ।
सन् २०२५ अप्रिल ३ मा सम्पन्न स्ववियु निर्वाचनबाट कोइराला त्रिचन्द्र बहुमुखी क्याम्पसको सभापतिमा निर्वाचित भएका थिए । नेपाल विद्यार्थी संघ तथा सहयात्री विद्यार्थी समूहको समर्थनमा उम्मेदवारी दिएका उनले प्रतिस्पर्धात्मक निर्वाचनबाट सभापतिको जिम्मेवारी पाएका हुन् ।
स्ववियु सभापति बनेपछि उनले शैक्षिक सुधार, क्याम्पस पूर्वाधार विकास, विद्यार्थी स्वास्थ्य सेवा, विद्यार्थीमैत्री वातावरण र स्ववियुको पारदर्शी सञ्चालनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए । आफू स्याङ्जाबाट त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति बन्ने पहिलो व्यक्ति भएको कोइरालाको दाबी छ ।
विद्यार्थीको आवाजलाई राष्ट्रिय राजनीतिको मूलधारसँग जोड्ने उद्देश्यले उनले ‘विद्यार्थी आवाजको संवाहक, स्याङ्जा जिल्लाको प्रतिनिधित्व’ भन्ने अवधारणा अघि सारेका छन् ।
“नेपाली कांग्रेसको अहिलेको प्रमुख एजेन्डा विद्यालय शिक्षाको परिमार्जन, उच्च शिक्षाको प्रबलीकरण र युवालाई रोजगारी हुनुपर्छ,” कोइरालाले भने, “त्यसका लागि म कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर पार्टीको नीति र प्राथमिकतामा काम गर्न चाहन्छु ।”
महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो मुख्य उद्देश्य शिक्षा र विद्यार्थी वर्गका सवाललाई कांग्रेसको नीतिगत प्राथमिकतामा स्थापित गर्नु रहेको उनले बताए । विद्यार्थी तथा शिक्षासम्बन्धी विषयलाई पार्टीको महाधिवेशनमार्फत संस्थागत रूपमा उठाउने र आवश्यक नीति तथा कार्यक्रम निर्माणमा योगदान गर्ने उनको योजना छ ।
सार्वजनिक शिक्षालाई पहुँचयोग्य र गुणस्तरीय बनाउने, उच्च शिक्षाको पूर्वाधार तथा शैक्षिक वातावरण सुधार गर्ने, विद्यार्थीका अधिकार सुनिश्चित गर्ने र युवालाई रोजगारीसँग जोड्ने विषयलाई उनले आफ्नो राजनीतिक प्राथमिकतामा राखेका छन् ।
विद्यार्थी संगठनहरूबीच साझा मुद्दामा सहकार्य, स्ववियुमा लोकतान्त्रिक जवाफदेहिता र युवाको राजनीतिक सहभागितालाई पनि उनले महत्त्व दिँदै आएका छन् । विद्यार्थी आन्दोलनबाट प्राप्त अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने कोइरालाको भनाइ छ ।
त्रिचन्द्र क्याम्पसको स्ववियु नेतृत्व सम्हालिसकेका कोइरालाको महाधिवेशन प्रतिनिधिको उम्मेदवारीलाई स्याङ्जाबाट विद्यार्थी राजनीतिमार्फत राष्ट्रिय राजनीतिको नीतिगत तहमा पुग्ने प्रयासका रूपमा हेरिएको छ ।






